लुम्बिनी प्रदेशमा चारदलीय गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी पेस गरेसँगै आजै यहाँ मुख्यमन्त्री नियुक्तदेखि मन्त्रिमण्डल गठनको तयारी थालिएको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेको गठबन्धनले सरकारमा सहभागी हुने मन्त्रीहरूको चयनका लागि तयारी तीव्र पारेका छन्।
गठबन्धनका नेताहरूले तीन दलबाट एक–एकजना सहभागी हुने गरी मन्त्रिमण्डल गठनको तयारी गरेका भए पनि अन्तिम चरणमा केही थप हुने देखिएको छ। चार दलमध्ये राजमो सरकारमा सहभागी नहुने भएको छ। बाँकी तीन दलमध्ये जसपाका तीनजना नै मन्त्री हुने भएका छन्। जसपा संसदीय दलका नेता सहसराम यादवका अनुसार यादव भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समाल्ने गरी सरकारमा सहभागी हुँदै छन्। जसपाका बाँकी दुई सांसद पुर्मती ढेगा र सुमन शर्मा रायमाझी विनाविभागीय मन्त्री बन्ने तयारीमा छन्।
कांग्रेसबाट डिल्ली चौधरी मन्त्री हुने सम्भावना रहेको छ। त्यस्तै, माओवादीमा दामाकुमारी शर्मा, कृष्णध्वज खड्कालगायतको मन्त्री बन्नेमा चर्चा रहेको भए पनि आज गठन हुने मन्त्रिपरिषदमा विमलाकुमारी खत्री (वली) लाई पठाउने सम्भावना बढी रहेको छ। मन्त्रीहरूको टुंगो लगाउन गठबन्धनमा आबद्ध दलहरू छलफलमा रहेका छन्।
कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको दुवै दलका नेताहरूले बताएका छन्।
कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनाैडियाले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमति भएको बताए। आगामी फागुन ३ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नेछन्। फागुन ३ गतेपछि बाँकी अवधिका लागि कांग्रेस दल नेता वीरेन्द्र कानोडियाले नेतृत्व गर्ने सहमति भएको छ। दुवै दलका नेताहरूले गठबन्धनलाई दरिलो बनाएर लगिने बताए।
को हुन् मुख्यमन्त्री केसी ?
विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा अगाडि सारिएका कुलप्रसाद केसी माओवादी केन्द्रका नेता हुन्। उनी मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
०२७ साल माघ १० गते रोल्पामा जन्मिएका उनी ०४६ सालदेखि ०४८ सालसम्म विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए।
उनी ०४८ देखि ०५० सम्म स्थायी शिक्षक, ०५० देखि ०५२ सम्म नेकपा एकता केन्द्र रोल्पा इलाका सेक्रेटरी हुँदै पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएका छन्। त्यसयता उनले माओवादीले सञ्चालन गरेको जनयुद्धमा डिभिजन कमिसारको भूमिकादेखि पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्यलगायतको जिम्मेवारीमा रहेर काम गरे। पार्टीको जिम्मेवारीका अतिरिक्त हाल माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेताका रूपमा केसी रहेका छन्।