अदालतमा मिसिल र लगत खोज्न ठूलै हैरानी हुन्छ । तर, वैदेशिक रोजगार न्यायाधीकरणमा भने बढीमा पाँच मिनेटमा कुनै पनि मिसिल र लगत सहजै भेटिन्छ । निषेधाज्ञाको अवधिलाई सदुपयोग गर्दै न्यायाधीकरणले अभिलेखलाई प्रविधिसँग जोडेर व्यवस्थित बनाएको हो । निषेधाज्ञाको अवधिमा सुनुवाइ बन्द भएकाले त्यो अवधिमा कर्मचारीहरूलाई कार्यालयले यस्तो काममा खटाएको हो ।
सहजै फेला गर्ने गरी हाल सबै मिसिलको विवरण सफ्टवेयरमा राखिएको छ । ‘हाम्रो सफ्टवेयरमा कुन फाइल कुन दराजको कुन कार्टुनमा छ भन्ने सबै रेकर्ड छ,’ न्यायाधीकरणका रजिस्ट्रार आनन्दराज पन्त भन्छन्, ‘कुनै पनि फाइल अब बढीमा पाँच मिनेटमा भेटिन्छ ।’ मुद्दा नम्बर थाहा नभए पनि प्रतिवादीको नाम वा मुद्दा दर्ता मितिबाट पनि मिसिल कहाँ छ भन्ने सहजै थाहा हुन्छ ।’
वैदेशिक रोजगार न्यायाधीकरणमा रहेका दुई हजार दुई सय ४५ वटै मिसिललाई यसरी सफ्टवेयरमार्फत खोजी गर्न सहज बनाइएको छ । बबरमहलस्थित पुरानो जिल्ला अदालतको भवनमा प्राधिकरणको कार्यालय छ । जहाँ पुरानो कोठामा चिटिक्कको मिलिसको अभिलेखकक्ष बनाइएको छ । मिसिललाई व्यवस्थित बनाउनकै लागि कार्यालयले विशेष किसिममा कार्टुन बनाएको छ । यसबाट कर्मचारीलाई पनि काममा सहज भएको र सेवाग्राहीले पनि छिटो सेवा पाउने रजिस्ट्रार पन्तले बताए । त्यस्तै, इजलास कक्षलाई पनि व्यवस्थित बनाइएको छ । सीमित स्रोतसाधन प्रयोग गरी कार्यालयलाई व्यवस्थित र चुस्त बनाउने काम गरिएको रजिस्ट्रार पन्तको भनाइ छ ।
वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढेपछि त्यससम्बन्धी मुद्दाको छिटो निरुपण गर्न ०६६ मा प्राधिकरण स्थापना भएको हो । त्यसअघि जिल्ला अदालतले यससम्बन्धी मुद्दा सुनुवाइ गर्दथ्यो । प्राधिकरणले वैदेशिक रोजगारीका नाममा भएका मुद्दाहरूउपर सुनुवाइ गर्दछ । आर्थिक वर्ष ०७७÷७८ मा प्राधिकरणले दुई सय ५७ मुद्दाको फस्र्योट गरेको छ, जुन ५६.१२ प्रतिशत हो । कोभिड महामारीका कारण लक्ष्यभन्दा कम फस्र्योट भएको रजिस्ट्रार पन्त बताउँछन् । प्राधिकरणमा हाल दुई सय एक मुद्दा विचाराधीन छन् ।