राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन र अलोकतान्त्रिक कदमविरुद्ध दलहरू मिलेको स्मरण गर्दै पछिल्लोपटक पनि पाँच दल एक भएर अग्रगमनको आन्दोलनमा होमिएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा पौडेलले बाध्य भएर सर्वोच्च अदालत जानुपरेको स्मरण गरिन् ।
विगतका सरकारको क्रियाकलापलाई हेर्दै विधिअनुसार अघि बढ्न देउवा सरकारलाई आग्रह गरिन् । उनले देउवा सरकारलाई पार्टीले विश्वासको मत दिने बताइन् । विगतको कमी–कमजोरीबाट शिक्षा लिएर अघि बढ्न उनले सुझाब दिइन् ।
उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र प्रतिपक्षमा बस्ने जानकारी दिइन् । उनले गुण र दोषको आधारमा पार्टीले समर्थन र विरोध गर्ने बताइन् । विगतमा केपी ओली सरकारलाई पनि गुण र दोषको आधारमा समर्थन र विरोध गरेको उनले स्मरण गरिन् । उनले पाँचदलीय गठबन्धनलाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याइन् ।