माधव नेपालसहितको बैठकका लागि रोकियो बालुवाटारको औपचारिक बैठक

नेपालसँग छलफलपछि रावल बालुवाटारको अनौपचारिक बैठकमा

सोमबार, २८ असार, २०७८
डिजिटल संस्करण

एमाले उपाध्यक्ष भीम रावलको मध्यस्थतापछि सर्वाेच्च अदालतको फैसलाबाट विकसित परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बोलाएको पार्टी स्थायी समितिको औपचारिक बैठक अनौपचारिक छलफलमा परिणत भएको छ ।

वरिष्ठ नेता नेपाललाई भेटेपछि उपाध्यक्ष रावल बेलुकी ५ बजे बोलाइएको औपचारिक बैठक स्थगनका बारेमा कुराकानी गर्न प्रधानमन्त्री ओलीसँग संवाद गर्न बालुवाटार पुगेका थिए । त्यहाँ उनले फैसलाबाट उत्पन्न असहज वातावरणलगत्तै नेपालसहितको एकतासम्बन्धी औपचारिक बैठक बस्न उपयुक्त नहुने भन्दै स्थायी समितिको औपचारिक बैठक मंगलबारसम्मका लागि सार्न ओलीलाई मनाएको स्थायी समितिका एक नेताले बताए । 

ओलीले नेपालसहित सामेल हुने गरी स्थायी समिति बैठक बोलाएका थिए, तर रावलको आग्रहपछि संस्थापन पक्षका स्थायी समिति सदस्यहरू मात्र सम्मिलित अनौपचारिक बैठक बालुवाटारमा बसिरहेको छ । 

वरिष्ठ नेता नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन लागेको र बैठक कोटेश्वर निवासमै बोलाइएको जानकारी पाएपछि रावल र उपमहासचिव घनश्याम भुसाल उनलाई भेट्न कोटेश्वरस्थित निवास पुगेका थिए । 

‘सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेर फैसला आएको र त्यसबाट पार्टी अध्यक्ष नै इरिटेड भएका वेला राम्रो वातावरणमा बैठक हुन सक्दैन । त्यसैले मंगलबार कुल वातावरणमा बैठक बसौँ, यसबारेमा माधव नेपालसँग समेत कुराकानी भएको छ भनेर उहाँले अध्यक्षलाई जानकारी गराउनुभएको हो,’ रावललाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘माधव नेपालले पनि आजै विपक्षी गठबन्धनलाई कार्यदलले सहमतिको प्रस्ताव तयार पारिसकेकाले अब औपचारिक रूपमा बैठकमा सामेल हुन नसकिने जानकारी गराउनुहुनेछ ।’

‘खासमा त बैठक देउवानिवास बुढानीलकण्ठमै बोलाइएको थियो, तर माधव कमरेडले कार्यदलले एकताको प्रस्ताव ल्याएको छ, म बिरामी पनि छु, आउन असमर्थ छु भन्ने जानकारी गराएपछि उताबाट त्यतै बसौँला नि त, हामी उतै आउँछौँ भन्ने आग्रहका कारण उहाँ सामेल हुनुभएको हो,’ ती सदस्यले भने, ‘रावल र भुसालजीलाई उहाँले म आजबाट गठबन्धनमा हुन्न, पार्टी एकता गरेर जाँदैछौँ । तपाईंहरू आफ्नो ढंगले अगाडि बढ्नुस् भनेर स्पष्ट पार्छु भन्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ 

सुझावित समाचार