चार निवर्तमान मन्त्रीले क्वार्टर छाडेनन्

सोमबार, २८ असार, २०७८
डिजिटल संस्करण
चार निवर्तमान मन्त्रीले क्वार्टर छाडेनन्

पुल्चोकस्थित मन्त्रीनिवास । तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

सर्वोच्च अदालतबाट पदमुक्त भएका कामचलाउ सरकारका चार मन्त्रीले अझै मन्त्रीनिवास छाडेका छैनन् । कानुनतः मन्त्री पद गुमेका १५ दिनभित्र अनिवार्य रूपमा मन्त्रीनिवास छाड्नुपर्ने प्रावधान छ । ८ असारमा अदालतको अन्तरिम आदेशपछि २१ र २७ जेठमा नियुक्त भएका १८ मन्त्री र दुईजना राज्यमन्त्री पदमुक्त भएका थिए । तर, पदमुक्त भएको १९ दिन बितिसक्दा पनि अझै चार मन्त्रीले पूर्ण रूपमा सरकारी निवास छाडेका छैनन् । पछिल्लोपटक नियुक्त २० मध्ये १५ मन्त्री पुल्चोक निवास गएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार निवर्तमान वनमन्त्री नारदमुनि राना, खानेपानी तथा सरसफाइमन्त्री अनिलकुमार झा, उद्योग तथा वाणिज्यमन्त्री राजकिशोर यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले अझै मन्त्रीनिवास छाडेका छैनन् । 

मन्त्री भएलगत्तै उनीहरूले आफूसँगै लगेका लत्ताकपडा तथा दैनिक प्रयोग हुने सामग्री अझै पनि मन्त्रीनिवासमै छन् । मन्त्रीनिवासको गेटमा लेखिएको नेमप्लेटबाट पनि उनीहरूको नाम हटाइएको छैन । तर, उनीहरूले निवास जान भने बन्द गरेका छन् । त्यसो हुँदा नेमप्लेटमा ‘बाहिर’ उल्लेख गरिएको छ ।

नयाँ पत्रिकाको सम्पर्कमा आएका पदमुक्त वनमन्त्री रानाले मन्त्रीनिवास छाड्न बाँकी रहेको स्वीकार गरे । घरायसी काममा व्यस्त भएकाले सरकारी निवासबाट सर्न ढिला भएको उनको तर्क छ । उनले भने, ‘म क्वार्टरबाट सरिसकेको छैन । सामग्री क्वार्टरमै छन् । व्यस्त भएर हो, केही दिनभित्रै सर्ने योजना बनाएको छु ।’ लाजिम्पाटस्थित निजी निवासमा बस्दै आएका मन्त्री झा खानेपानी तथा सरसफाइमन्त्री भएपछि सरकारी निवासमा सरेका थिए । खाली भएपछि निजी घरमा रङरोगन लगाउन सुरु गरेका थिए । त्यही क्रममा मन्त्री पद खुस्केपछि सामग्री सार्न पाएका छैनन् । 

अहिले सपरिवार रौतहटमा रहेका मन्त्री झाले भने, ‘मन्त्री पद यति चाँडै जाला भन्ने लागेको थिएन । क्वार्टरमा सरेपछि घरमा रङरोगनको काम भयो । त्यही वेला श्रीमती बिरामी भइन् । उपचारका लागि बाहिर जानुपर्ने भयो । त्यसो हुँदा केही सामग्री क्वार्टरमा छुटेको हुन सक्छ । हामी सार्वजनिक मान्छे हौँ । २५ वर्ष भयो राजनीति गरेको, हामीले पेन्सन पाउने होइन । यो ठूलो विषय होइन ।’

निवर्तमान उद्योग तथा वाणिज्यमन्त्री यादवले आफूले मन्त्री क्वार्टर नै प्रयोग नगरेको बताउँदै आएका छन् । मन्त्री नियुक्त हुँदा मन्त्री क्वार्टर भरिसकेको उनले तर्क गर्दै आएका छन् । तर, मन्त्रीनिवासको ब्लक डी उनको नाममा छ । मन्त्रीनिवास सुरक्षा गार्ड प्रमुख प्रहरी निरीक्षक राममणि उप्रेतीले मन्त्री यादव क्वार्टरबाट सरिनसकेको बताए । उनले भने, ‘क्वार्टरबाट मन्त्री यादव सर्नुभएको जस्तो लाग्दैन, आवश्यक सुरक्षा दिने काम हामीले गर्दै आएका छौँ ।’

निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरीले पनि मन्त्री क्वार्टरबाट सबै सामग्री सारिसकेकी छैनन् । उनको नेमप्लेट अझै पनि मन्त्रीनिवासमा झुन्डिरहेको छ, तर मन्त्रीनिवास भने जान बन्द गरेकी छिन् । डेरामा बस्दै आएकी उनले नयाँ पत्रिकासँग भनिन्, ‘म मन्त्री क्वार्टरबाट सरिसकेकी छु । अहिले म आफ्नै डेराघरमा बस्दै आएकी छु । केही सामग्री ल्याउन बाँकी होलान् । काम गर्ने पनि क्वार्टरमा होलान् । त्यसो भन्दैमा मन्त्री क्वार्टरबाटै नसरेको भन्न मिल्दैन ।’

तर, त्यसै साँझ प्रधानमन्त्री ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका थिए । अदालतको अन्तरिम आदेशपछि साँझ सरकारीनिवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर ओलीले अदालतको आदेश अप्रत्याशित भए पनि समाधान खोजिनेसमेत बताएका छन् । ‘अदालतले हामी सबैलाई अप्रत्याशित लाग्ने गरी अन्तरिम आदेश जारी ग¥यो । तर, आत्तिनुपर्दैन, यसको वेआउट (समाधान) निकालिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘दैनिक सरकारी कामकाज त गर्न मिलेन, तर निवास छाडिहाल्नुपर्दैन, अहिलेलाई त्यहीँ बस्दा हुन्छ, तपाईंहरूले झन्डा छोपेर गाडी पनि प्रयोग गर्न सक्नुहुन्छ ।’ 

सुझावित समाचार