क्रियाशील सदस्यताको विवाद समायोजनका सन्दर्भमा कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूको बैठक बसेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बैठक बसेको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालालगायत सहभागी छन् । क्रियाशील सदस्यता छानबिनका क्रममा देखिएका विवाद समाधान र अन्य पार्टीबाट प्रवेश गरेका नेता तथा कार्यकर्ताको समायोजनका सन्दर्भमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
क्रियाशील सदस्यता छानबिनकै सन्दर्भमा सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा नेताहरूले छलफल गरिरहेका छन् ।
सभापति देउवाले जथाभावी क्रियाशील सदस्य थप गरी पार्टी कब्जा गर्ने नीति अपनाएको संस्थापनइतर समूहको आरोप छ ।