गठबन्धन पदका लागि होइन, मुद्दाका लागि हो : प्रचण्ड

शनिबार, १२ असार, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन कुनै स्वार्थमा केन्द्रित भएर नबनेको स्पष्ट पारेका छन् । ‘गठबन्धन कुनै स्वार्थमा केन्द्रित छैन । यो मुद्दामा आधारित भएर बनेको गठबन्धन हो । ०७४ को आमनिर्वाचनपछि नै मलाई पाँच वर्षकै लागि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको हो । तर, मैले राजनीतिक स्थायित्व र संमृद्धिका लागि त्याग गरेको हुँ । अहिले शेरबहादुरजीले पनि प्रधानमन्त्री मलाई दिनैपर्छ भनेर भन्नुभएको होइन । यो लडाइँ प्रधानमन्त्री पदकै लागि मात्रै होइन,’ उनले भने, ‘योपटक हामी प्रधानमन्त्री हुन पाए, सरकार छिटो बनाउन पाए भन्ने कुराबाट प्रेरित होइनौँ । यति कुरा प्रस्ट हुनुस् ।’

प्रचण्डले नेपाली जनताको लामो संघर्षबाट बनेको संविधानको रक्षा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि पाँच दलको गठबन्धन बनेको स्पष्ट पारे । ‘लामो संघर्ष र बलिदानपछि बल्लबल्ल संविधानसभाबाट संविधान बनेको हो । अहिले त्यो संविधानमाथि नै निर्मम किसिमबाट प्रहार भइरहेको छ । त्यसबाट यो संविधानको रक्षा गर्नैपर्छ । नत्र देश र जनताको भविष्य बर्बाद हुन्छ भनेर हामी लागेका हौँ । यो कुनै स्वार्थका लागि बनेको गठबन्धन होइन,’ प्रचण्डले भने ।

उनले पाँच पूर्वप्रधानमन्त्रीहरूका अभिव्यक्तिबारे आफूहरूलाई धेरै खुल्न बाध्य नपार्न आग्रह गरे । ‘अहिले जेजस्ता चलखेल भइरहेका छन् । त्यहीबारे हामीले बोलेका हौँ । हामी पाँच पूर्वप्रधानमन्त्रीले जुन अभिव्यक्ति दिएका छौँ । बुझनेलाई इसारा काफी छ,’ उनले भने, ‘हामीलाई धेरै नखुलाउनुस् । नेताहरूलाई धेरै खुल्न लगाएको पनि राम्रो हुँदैन ।’

See More On

सुझावित समाचार