विपक्षी गठबन्धनको छलफलको निष्कर्ष– सरकार एकपछि अर्को धाँधलीमा व्यस्त

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

विपक्षी गठबन्धनको बैठकले वर्तमान सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको बताएको छ । विपक्षी गठबन्धनमा सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले अवैधानिक सरकारले एकपछि अर्काे जनतामा असर गर्ने प्रकृतिका धाँधलीयुक्त र भ्रष्ट काम गरिरहेको भन्दै विरोध जनाएको हो । 

पछिल्लो राजनीतिक घटनाक्रम, अवैधानिक सरकारले ल्याएको बजेट र गतिविधिबारे समीक्षा गर्न शुक्रबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा गठबन्धनको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समसामयिक राजनीतिक विषयको समीक्षा गर्दै संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थाको रक्षाका निम्ति विपक्षी दलहरू एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको बताए । ‘यो सरकारले एकपछि अर्को धाँधलीयुक्त कार्य गरिरहेको छ । अध्यादेशमार्फत ल्याएको बजेटमा दीर्घकालीन असर गर्ने र जनताको प्रत्यक्ष जीवनशैलीमा असर पुर्याउने प्रकृतिका निर्णयहरू आएका छन् । त्यसको विरुद्धमा स्थानी तहदेखि केन्द्रसम्मै एकताबद्ध भएर जानुपर्छ भन्ने छलफल भयो,’ नेता पौडेलले नयाँ पत्रिकासँग भने । 

पौडेलले बैठकले सरकारका पछिल्लो गतिविधिको गम्भीर समीक्षा र खण्डन गरेको बताए । ‘सरकार काण्डैकाण्डमा फसेको छ । चुरेको दोहन गर्नेदेखि नुन र कोभिड महामारी नियन्त्रणमा सरकारको अकर्मण्यताका विषयहरू छन् । यो सरकार भ्रष्टाचारमा लिप्त छ । अनेक धाँधलीयुक्त काम गरिरहेको छ । त्यसको सबै ढंगले एकताबद्ध भएर सर्वत्र विरोध गर्ने र अहिलेको परिस्थितिमा संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा गर्ने कुरा मुख्य हो,’ पौडेलले भने । 

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू अशोककुमार राई र महेन्द्रराय यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए । 

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकले समसामयिक राजनीतिक विषयमा धारणा बनाएको र त्यसलाई संयुक्त रूपमा सार्वजनिक गर्ने तयारी रहेको बताए ।  ‘गठबन्धनको नियमित छलफल हो, अहिलेको राजनीतिक घटनाक्रम र सरकार गतिविधिबारे समीक्षा भयो । सरकारको अध्यादेशमार्फत ल्याएको बजेटले देशको ठूलो हिस्सालाई प्रभावित पार्ने काम गरेको छ, चुरको दोहनदेखि नुनको गुणस्तरसम्मका अवैध विषयहरू छन्, त्यसबारे साझा र एकीकृत धारणा बनाउने र साझा प्रतिरोध गर्नेबारे छलफल भयो,’ महामन्त्री खड्काले भने । 

सुझावित समाचार