प्रधानन्यायाधीशको आदेश सर्वोच्च अदालतको संवैधानिक इजलासको विषयमा न्यायाधीशहरूको राय बाझिएपछि अब वरिष्ठताका आधारमा इजलास गठन हुने भएको छ ।
प्रश्न उठे पनि न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने अडान लिए । इजलासमै आफ्नो आदेश पढ्दै उनीहरूले आफूहरूले अकारण इजलास छाड्न नमिल्ने बताए । लगत्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले भने यो विवादबीच आफूहरू इजलासमा बस्न नसक्ने आदेश सुनाए ।
फरक राय पढ्दै कार्की र भट्टराईले भने, ‘न्यायाधीश पूर्वाग्रहको आशंका हुनुहुन्न । पूर्वाग्रहको आशंका छ भन्ने कुराको हेक्का न्यायाधीश आफैँले राख्ने हो । दुवै न्यायाधीश अलग भए हुन्थ्यो भन्ने हामीलाई लागेको छ । किनकि विवाद उठेको मुद्दा र उहाँहरूको सम्बन्ध छैन भन्न मनले दिइरहेको छैन, त्यसैले इजलासबाट अलग भएको जानकारी गराएका छौँ ।’ लगत्तै प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले आउँदो आइतबार इजलाश बस्ने र त्यसमा वरिष्ठताका आधारमा न्यायाधीश तोकिने स्पष्ट पारे ।