विश्वको पाँचौँ अग्लो मकालु हिमालबाट करिब सात हजार किलोग्राम फोहाेर संकलन गरिएको छ । ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत संखुवासभाको मकालु गाउँपालिका– २ मा पर्ने विश्वको पाँचौँ अग्लो मकालु हिमालबाट साढे ६ हजार किलोग्रामभन्दा बढी फोहर संकलन गरिएको हो ।
नेपाली सेनाको टोलीले संकलन गरेको फोहोर एक कार्यक्रमबीच मकालु गाउँपालिकाको केन्द्र नुमबजारमा अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरे । मकालु हिमालबाट ४७८२ किलोग्राम नकुहिने फोहाेर र १७२५ किलोग्राम कुहिने फोहाेर संकलन गरेको थियो । तीमध्ये कुहिने फोहाेर मकालु गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।
उक्त फोहाेर संकलन गर्न नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गएको वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजंग थापाले बताए । उनका अनुसार टोलीले गएको जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौथो क्याम्प फोहाेर संकलन गरेको थियो । यस्तै सफा हिमाल अभियानअन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरिएको टोलीले जनाएको छ ।
मकालु हिमालको उचाइ ८४६४ रहेको छ । अभियान टोलीले मकालु हिमालको ७४०० मिटर उचाइसम्मको फोहाेर संकलन गरेको जनाएको छ । हिमाल आरोहणमा आउने पर्यटकहरूले जथाभावी फोहोर छोड्ने गरेको हिमाल फोहोर बढेको छ । प्लाष्ट्रिकजन्य र बोतलहरू बढीजसो जताततै हुने गरेको उनीहरूको भनाइ छ ।