देउवानिवासबाट बाहिरिए नेताहरू, अर्को बैठक सिंहदरबारमा

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

विपक्षी दलहरू प्रधानमन्त्री र राष्ट्रपतिले अर्को असंवैधानिक कदम चालेको निष्कर्षमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । बैठकपछि नेताहरू बाहिरिएका छन् । अर्को बैठक केही बेरपछि सिंहदरबारमा बस्ने नेताहरूले बताएका छन् । 

संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामासमेत नदिएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)बमोजिमको सरकार गठनका लागि आह्वान गरेपछि दलहरू त्यसको प्रतिरोधको दौडधुपमा छन् । अर्को सरकार दाबी गर्न चार घन्टामात्रै बाँकी रहँदा दलहरूले अर्को सरकार दाबी गर्ने वा नगर्ने कुनै टुंगो नलागेको, तर विकल्पहरूमाथि छलफल भइरहेको बताएका छन् ।

बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक भएको साझा निष्कर्ष निकालिएको जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले बताए । ‘हामीले जसपाको तर्फबाट धारणा राख्यौँ, उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयो । विभिन्न विकल्पहरूबारे छलफल भएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेर फेरि शीर्ष नेताहरूबीच छलफल गर्ने सहमति भएको छ ।’

कांग्रेस सभापति देउवाको निमन्त्रणामा छलफलका लागि एमाले नेता माधवकुमार नेपाल र भीम रावल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जसपाका नेताहरू मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ र रेणु यादवलगायत नेताहरू बुढानीलकण्ठ पुगेका थिए । 

सुझावित समाचार