बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न प्रतिबद्ध र क्रियाशील रहेको जनाएको छ ।
उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र बागमती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् ।
निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेश सभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।
मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ ।हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान जारी छ ।
केन्द्रमा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्। निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने निर्वाचन आयोगले जनाएको छ ।
नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानुनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रिय सभा सदस्यको पहिलोपटक उपनिर्वाचन हुन लागेको हो ।
नतिजा भर्चुअल माध्यमबाट
यसैबीच आज हुने राष्ट्रिय सभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।
मतदानस्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि सुरु गरिनेछ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ । मतदानका लागि कोभिड संक्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् ।
मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखहरूलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
प्रदेश निर्वाचन आयोगले मतदानस्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले बताए । विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीनवटा मतदान केन्द्र स्थापना गरिएको छ । ‘क’मा प्रदेश सभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड– १९ संक्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको हुनेछ । मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।