प्रचण्डको सचिवालयले भन्यो– निर्वाचन आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्रीलाई कारबाही होस्

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिताविपरीत अमूक उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल जारी गर्ने प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रचण्डको तर्फबाट प्रमुख स्वकीय सचिव जोखबहादुर महरा प्रतापले प्रेस वक्तव्य जारी गरी प्रधानमन्त्रीको कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् । मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमूक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरूलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै वक्तव्यमा प्रश्न गरिएको छ–निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ?

वक्तव्यमा भनिएको छ, ‘केपी शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्रीसमेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यसविपरीत सरकार प्रमुखले नै अमूक उम्मेदवारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ । योभन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमूक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरूलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गर्दछु ।’

निर्वाचन आयोग, राजनीतिक पार्टीहरू, निर्वाचन पर्यवेक्षकहरू, नागरिक समाज, पत्रकार तथा आमजनसमुदायमा अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाको निम्ति एकजुट हुन वक्तव्यमा अपिल गरिएको छ । बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको अवस्थामा बुधबार प्रधानमन्त्री ओलीले सार्वजनिक अपिल जारी गर्दै मत मागेका थिए । 

सुझावित समाचार