नेपाल प्रहरीका १०औँ महानिरीक्षक बरालको निधन

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । पानीपोखरीस्थित निवासमै बुधबार बिहान उनको निधन भएको हो । 

बराल नेपाल प्रहरीको १०औँ महानिरीक्षक हुन् । १ साउन ०२९ देखि ३१ जेठ २०३५ सम्म उनी प्रहरी महानिरीक्षक थिए । 

प्रहरीमा व्यापक सुधार गर्ने महानिरीक्षकका रूपमा उनी चिनिन्छन् । उनको कार्यकालदेखि प्रहरीले पोसाकका लागि सरकारबाट पैसा पाउन थालेको थियो । साथै रासनभत्ता पनि उनकै कार्यकालबाट सुरु भएको छ । 

प्रहरीमा भर्ना हुनुअघि उनी राणाशासनविरुद्धको मुक्ति सेनामा आबद्ध भएर सशस्त्र संघर्ष गरेका थिए । पछि खुला प्रतिस्पर्धाबाट प्रहरीमा भर्ना भए ।

इन्स्पेक्टरमा भर्ना भएको १६ वर्षमा नै उनी महानिरीक्षक पदमा पुगेका थिए । महानिरीक्षकबाट अवकाशपछि बर्माका लागि नेपाली राजदूतसमेत बनेका थिए । बरालको आजै पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

सुझावित समाचार