प्रधानमन्त्रीको दौडबाट पछि हट्यो कांग्रेस

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण
प्रधानमन्त्रीको दौडबाट पछि हट्यो कांग्रेस

फाइल तस्बिर

संविधानको धारा ७६ (२) अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमै उभिने भएपछि कांग्रेसले सरकार गठनका लागि बहुमत पु¥याउन नसकेको हो । 

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए । उनले एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाइसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा (२) बमोजिम जसपासँग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गरे । 

उनले भने, ‘सम्भावना देखिएन । हामी त तयारै हो । संविधानको धारा ७६ को उपधारा २ अनुसार जुन आजसम्म दाबी गर्ने समय थियो । यसभित्र अरू सहयोगी दलहरूको पनि निर्णयको आवश्यकता पथ्र्यो । जसपामा पनि एकमतको निर्णय गर्ने अवस्था देखिएन र माधवजीहरूले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले दाबी गर्ने अवस्था अब रहेन । परिणाम नआउने दाबी गर्न जाने कुरा भएन । एक–दुई घन्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने बेग्लै कुरा हो । तर, अहिलेसम्म त्यो स्थिति देखिएन । ७६ (२) अन्तर्गत त उहाँ (प्रधानमन्त्री केपी ओली)ले दाबी गर्न सक्नुहुन्न । त्यो त गलत नजिर बस्छ । उहाँले एकपटक संसदमा विश्वासको मत लिन असफल भइसकेपछि फेरि ७६ (२) अन्तर्गत दाबी गर्नु अनुपयुक्त हुन्छ । त्योअनुसार गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठनका लागि निर्णायक मतको रूपमा रहेको जसपामा महन्थ ठाकुर समूह प्रधानमन्त्री ओलीको पक्षमा छ भने उपेन्द्र यादव समूह विपक्षमा छ ।
 

सुझावित समाचार