कांग्रेसले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूसँग गठबन्धन गरेर बहुमतसहित सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दाबी गर्ने भएको छ ।मंगलबार बुढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल पार्ने निर्णय सफल भएको समीक्षा गर्दै देउवाको नेतृत्वमा बहुमतको सरकारको दाबी गर्ने निर्णय गरको हो ।
‘राष्ट्रपतिले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरू मिलेर बहुमतको प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढाउनुभएको छ । हामी माओवादी केन्द्र र जसपाको सहयोगमा हामी दाबी गर्छौँ । त्यसका लागि आवश्यक समर्थन जुटाउन पार्टी सम्पूर्ण रूपमा लाग्छौँ,’ बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।
महतले सिंगो जसपाले एकढिक्का भएर निर्णय लिएर आउने प्रशस्त सम्भावना रहेको खुलाए । ‘माओवादी र कांग्रेस हामी एकै ठाउँमा छौँ, हामीबीचमा कुनै समस्या छैन । अब जसपाको कुरा हो । जसपाको एउटा समूह तयार छ, अर्को समूहसँग छलफल भइरहेको छ, हामीले सिंगो पार्टीकै निर्णय लिएर सम्पूर्ण रूपमा सामेल हुन आग्रह गरिरहेका छौँ, सिंगो जसपा आउन सक्ने प्रशस्त सम्भावना छ,’ उनले भने ।
महतले बहुमतको सरकारकै विषयमा नेकपा एमालेकै असन्तुष्ट समूहसँग पनि छलफल भइरहेको बताए । ‘एमालेभित्र पनि असन्तुष्टि छ, माधवजीहरू हिजो मतदानमा उपस्थित हुनुभएन, हामी उहाँहरूको पनि सहयोग लिने प्रयास गर्छौँ,’ उनले थपे ।
अहिलेकै अवस्थामा प्रतिनिधिसभामा कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउन १३६ सांसद आवश्यक पर्छ । अहिलेसम्म कांग्रेस (६१) र माओवादी केन्द्र (४९) मात्रै बहुमतको सरकारका लागि तयार छन् । जसपा (३२) भित्र विवाद भए पनि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह (१६) कांग्रेस नेतृत्वको सरकारका लागि तयार छन् ।
कांग्रेसको मंगलबारको बैठकले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो (१६) लाई मनाउने विभिन्न विकल्पहरूबारे छलफल गरेको छ । जसपाको एउटामात्रै समूह आएमा पनि कांग्रेसले कम्तीमा पनि थप १० सांसदको साथ खोज्नुपर्ने हुन्छ । मंगलबारको बैठकमा बहुमत पु¥याउन सकिने विभिन्न आधारहरूबारे छलफल भएको एक नेताले जानकारी दिए ।