एमालेका प्रमुख सचेतक भन्छन्– विश्वासको मत नपाए प्रतिपक्षमा बस्न पनि तयार छौँ (भिडियोसहित)

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाए प्रतिपक्षमा बस्ने बताएका छन् । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीभित्र ह्विप लाग्ने र सांसदहरूले मान्नैपर्ने बताए । 

एमालेका कुनै पनि सांसदले विपक्षमा मत हाल्ने सम्भावना नरहेको उनको दाबी छ । उनले अन्य पार्टीलाई आफूहरूको ह्विप नलाग्ने पनि बताए । 

उनले भने, ‘०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा एक सय २१ सिट जितेको हो । त्यो एक सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलहरूसँग हामीले सहयोग माग्ने मात्रै हो । अरू दललाई हाम्रो ह्विप लाग्दैन । निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौँ ।’

उनले एमालेकै नेपाल–खनाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेस गर्नुअगावै राजीनामा दिने कुरामा आफूलाई विश्वास नभएको तर्क गरे । उनले भने, ‘मलाई पटक्कै विश्वास छैन । किनभने निर्वाचनमा पाँच वर्षका लागि मत मागेर आउनुभयो । विकास र समृद्धिको कुरा गर्नुभयो । यसवेला आएर जनताका बीचमा राजीनामा दिएर के भन्दै जाने हो । त्यसकारणले मलाई राजीनामा आउँछजस्तो लागेको छैन ।’
 

सुझावित समाचार