चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुलको तेस्रो स्पान पनि भत्किएको छ । पुलसँगै नदीमा खसेर एक मजदुरको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् । पुल भत्किँदा १४ जना भारतीय मजदुर काम गरिरहेका थिए । प्रहरीका अनुसार नौ मजदुर पुलको स्पानसँगै त्रिशूलीमा खसेका थिए । तीमध्ये ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर देवराज काफ्लेका अनुसार सुदीप माझी र श्यामबाबु पाठक बेपत्ता छन् । बाँकी ६ मजदुरमध्ये एक जना बाहेक सबै सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । ८० प्रतिशत निर्माण सकिएको पुल यसअघि २४ चैतमा भत्किएको थियोे । २० कात्तिक ०७१ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको सम्झौता भएको थियो । तर, भूकम्प, कोभिड र डिजाइन परिवर्तनलगायत कारण देखाउँदै चारपटक निर्माण अवधि थप गरिएको थियो । अन्तिमपटक थपिएको म्याद आउँदो १२ असारमा सकिँदै छ ।
स्थानीय देवेन्द्र पौडेलले ठेकेदारको लापरबाहीले पुल भत्किएको बताए । ‘यसअघि २४ चैतमा भत्किँदा भारतमा आएको भूकम्पको धक्कालाई कारण देखाइयो । तर, यसपटक त न भूकम्प आएको छ, न ठूलो हावाहुरी,’ उनले भने, ‘ठेकेदारकै लापरबाहीले अहिले पुल भत्किएको हो ।’ सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले भने २४ चैतमा भत्किएको पुलको प्रभावका कारण स्टिलको स्पान पनि भत्किएको दाबी गरे ।
सुरुमा भ्याटसहित १९ करोड १० लाखमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले पुलको ठेक्का पाएको थियो । पछि डिजाइन परिवर्तन गर्दै लागत बढाएर २१ करोड ६८ लाख पुर्याइएको थियो । सम्झौता रकममध्ये ठेकेदारले अहिलेसम्म १२ करोड ३१ लाख २० हजार रुपैयाँ भुक्तान लगिसकेको छ । सो पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे आठ मिटर छ ।
पुलमा ४०–४० मिटरका कंक्रिटको तीनवटा र स्टिलको ८० मिटरको एउटा स्पान थियो । यसअघि ठिमुरातर्फको ढलान भएका दुईवटै स्पान भत्किएको थियो । देवघाटतर्फ रहेको स्टिलको ८० मिटरको स्पान आइतबार भत्किएर नदीमा खसेको हो । चारवटा स्पानमध्ये अब देवघाटतर्पmको एउटा मात्र स्पान बाँकी छ ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विजय दराईका अनुसार कम्पनीले पुरानै बजेटभित्र नयाँ पुल बनाउने सहमति जनाएको छ । सडक विभागले पुल भत्किएको विषयमा अध्ययन गर्न समिति बनाएको थियो । दराईका अनुसार पुल पुनः भत्किएपछि समितिको निर्णय आउने मिति पनि सरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पुल अलपत्र नपरोस् भन्न आफूले सम्बन्धित सबै पक्षसँग छलफल गर्ने बताए ।