मतपत्र छपाइमा ढिलाइ भएपछि लम्बियो कांग्रेस महाधिवेशन

७,२५५ बाट प्रतिनिधि पनि ७,३१७ पुगे

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण
मतपत्र छपाइमा ढिलाइ भएपछि लम्बियो कांग्रेस महाधिवेशन

चुनावका लागि खुलामञ्चमा तयार पारिएको मतदान केन्द्र । तस्बिर : सञ्जीव योञ्जन/नयाँ पत्रिका

  • आज मतदान, एकजनाले २३ मतपत्रमा मत दिनुपर्ने, कम्तीमा ४० मिनेट लाग्ने, एक केन्द्रमा २०० ले एकैपटक मतदान गर्न सक्ने

मतपत्र छपाइमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन एक दिन लम्बिएको छ । १८ असोजमा उद्घाटन भएको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, उम्मेदवारी दर्ता प्रक्रिया र उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान १० बजे, दिउँसो १ बजे र दिउँसो २ बजे मतदान सुरु गर्ने भनेर समय धकेल्दै लगिएकामा मतपत्र छपाइ नसकिएपछि अन्ततः शुक्रबारका लागि मतदान सारिएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले दुई लाखभन्दा बढी मतपत्र छापिएको बताए । मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन् । मतपत्रमा हस्ताक्षरका लागि २३ वरिष्ठ अधिवक्ता खटिएका छन् । उनीहरूलाई हस्ताक्षर गर्न दिउँसोदेखि राति ११ बजेसम्म लागेको थियो । शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । तर, साँझसम्मै लाग्ने आकलन गरिएको छ ।

हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म २३ मतपत्रमा मतदान गर्नुपर्नेछ । एउटा मतपत्रमा मतदान गरिसकेपछि अर्को मतपत्र लिएर मतदान गर्दै जानुपर्ने व्यवस्था मिलाइएको छ । एक प्रतिनिधिलाई मतदान गर्न ३० मिनेट लाग्ने निर्वाचन समितिको दाबी छ । तर, निर्वाचनमा खटिएका अधिकारीहरू मतदानका लागि एकजनालाई ४० देखि ४५ मिनेट लाग्ने बताउँछन् ।

प्रदेशगत रूपमा एकपटकमा २०० सयका दरले मतदानमा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । प्रत्येक केन्द्रमा ५० वटा टेबलको व्यवस्था गरिएको छ । एउटा टेबलमा ‘पार्टेसन’ गरेर चार खण्ड बनाइएको छ । जहाँबाट एकैपटक ४ जनाले गोप्य मतदान गर्न सक्छन् । निर्वाचन समितिले सहजीकरणका लागि पाँच सयजनालाई स्वयंसेवक खटाएको छ ।

सभापतिदेखि सदस्यसम्म उम्मेदवारको संख्या ८१२ छ । पदाधिकारीका लागि निर्वाचन हुने १८ पदका लागि ७१ उम्मेदवार छन् भने २१० निर्वाचित हुने केन्द्रीय सदस्यका लागि ७४१ उम्मेदवार छन् । महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधि छन् । निर्वाचन समितिले यसअघि बुधबार बिहान सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमा सात हजार २५५ प्रतिनिधि थिए । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीपहिरोलगायतका कारणले अधिवेशन हुन नसकेका पालिकाबाट पुरानै सभापतिसहित प्रतिनिधि कायम गर्दा संख्या बढेको निर्वाचन समिति संयोजक खड्काले बताए ।

मतदाताहरू मतदानका लागि बिहीबार बिहानैदेखि प्रतीक्षामा थिए । उनीहरू बिहान सबेरै मतदानस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा पुगिसकेका थिए । अपराह्नसम्म पनि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा थिए । तर, निर्वाचन समितिले अपराह्न साढे ४ बजेपछि पत्रकार सम्मेलन गरेर निर्वाचनको मिति सारिएको जानकारी गराएको थियो । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबारका लागि सारिएको संयोजक खड्काको भनाइ छ ।

‘अब मतदान गर्न मात्रै बाँकी हो, अन्य सबै तयारी पूूरा भइसकेको छ । साँझमा सुरु गरेर रातभर मतदान गर्दा मतदातालाई अप्ठेरो पर्ने भएकाले शुक्रबारका लागि सारिएको हो । मतदान सम्पन्न गरी महाधिवेशन प्रतिनिधिहरूलाई भोलि नै बिदाइ गर्छौँ,’ उनले भने, ‘मतपत्र तयार छ । मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति पनि तयार छ । मतदान केन्द्रमा मतदानका लागि सबै व्यवस्थापन तयार गरिसकिएको छ । आवश्यक स्वयंसेवकहरू पनि तयार छन् । थप सुरक्षा आवश्यक पर्दा सुरक्षा व्यवस्थासमेत सम्पूर्ण रूपमा तयार छ । भोलि बिहान ७ बजे नै मतदान सुरु हुन्छ ।’

पार्टी नेतृत्वले बिहीबार नै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातिको समय उचित नहुने निष्कर्षमा पुगेको खड्काले बताए । निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारसँग निर्वाचनका विषयमा बिहीबार दिउँसो छलफल गरेको थियो । उक्त छलफलका क्रममा उम्मेदवारहरूले ढिला नगरी मतदान प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए । तर, रातिको समय, मौसम र सुरक्षालगायतका कारण रातभर मतदान गराउन उचित नहुने निष्कर्षमा समिति पुगेको हो ।

शुक्रबार बस्ने र खाने खर्च पार्टीले व्यहोर्ने
कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई चार दिनका लागि खाना र खाजाको व्यवस्था गरेको थियो । होटेलमा बस्ने खर्च स्वयं प्रतिनिधिले नै तिर्नुपर्ने व्यवस्था थियो । तर, महाधिवेशन लम्बिएका कारण शुक्रबार बस्ने र खाने खर्च पार्टीले नै व्यहोर्ने भएको छ । जसका लागि क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयको डेस्कमा सम्पर्क राख्न कांग्रेसले भनेको छ ।

‘बिहीबार साँझसम्म पूर्वनिर्धारित सेड्युलबमोजिमको व्यवस्था छँदै छ । आवश्यकताअनुसार थपिएको समयावधिबमोजिम खानाको साबिक स्थान भृकुटीमण्डपमा नै व्यवस्था गरिनेछ । निर्धारित सेड्युलभन्दा एक दिन समय थपिँदा परेको असर र अप्ठ्यारोलाई परिस्थितिको बाध्यताका रूपमा लिएर ऐक्यबद्ध ढंगले शुक्रबार बिहानैबाट निर्वाचन प्रक्रियामा सहभागी बन्न सभापति गगन थापाले सबैलाई आग्रह गर्नुभएको छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले भने । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन लम्बिँदा हुने खर्च पार्टीले नै व्यहोर्ने स्पष्ट पारे ।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
nullनिर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह मतदान केन्द्र ‘क’ (१) मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ । खुलामञ्च, मतदान केन्द्र ‘ख’मा तराई मधेश हल दुईवटा, पहाड हल दुईवटा र हिमाल हल एउटा व्यवस्था गरिएको छ । तराई मधेश हलमा क्रमशः (२) कोशी प्रदेश र (३) मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । हिमाली हल (४) मा गण्डकी प्रदेशका प्रतिनिधि, पहाड हल (५)मा लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । पहाड हल (६) मा कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि मतदानको व्यवस्था मिलाइएको छ ।

परिचयपत्र र मतदाता नामावली रुजु गर्ने 
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु हुनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।

मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उम्मेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् ।

मतदानलगत्तै मतगणना, तीन दिनभित्रै परिणाम सार्वजनिक गर्ने दाबी
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाउने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ । दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताए । ‘आवश्यकताअनुसार १३ वटासम्म मतगणना स्थल बनाएर भए पनि दुई/तीन दिनमै मतगणना सम्पन्न गर्ने तयारीमा छौँ,’ खड्काले भने ।

आचारसंहिताविपरीत पोलदेखि भुइँभर प्रचार सामग्री छरपस्ट
nullउम्मेदवारी दर्तासँगै उम्मेदवार र समर्थकहरू मत माग्न व्यस्त रहे । खुलामञ्च, राष्ट्रिय सभागृहका साथै प्रतिनिधिहरू बसेका स्थानमा समेत मत माग्दै पुगे । उम्मेदवार र उनीहरूका समर्थकले पोस्टर र ब्यानरसहित मत माग्ने क्रममा महाधिवेशन स्थलपरिसरका पोलदेखि भुइँभर प्रचार सामग्री यत्रतत्र देखिन्छन् । खुलामञ्चदेखि राष्ट्रिय सभागृहसम्मका सडक प्रचार सामग्रीले ढाकिएका छन् ।

केही उम्मेदवारले गीतमार्फत, केहीले गजल र कवितामार्फत पनि मत मागेका छन् । कतिपयले गगन थापा समूह भनेरसमेत मत मागिरहेका छन् । सोही व्यहोराको चिटसमेत बाँडेका छन् । अधिकांशले भने पोस्टर, ब्यानर र भिजिटिङ कार्डमार्फत मत मागेका छन् । उम्मेदवारको भिजिटिङ कार्ड यत्रतत्र छरिएका छन् । जबकि, निर्वाचन समितिले चुनाव प्रचार गर्दा डिजिटल प्रविधि उपयोग गर्न आग्रह गरेको छ । निर्वाचनमा तय गरिएको आचारसंहिता उल्लंघन भएको समितिले नै स्वीकार गरेको छ । संयोजक खड्काले भने, ‘हामीले डिजिटल्ली प्रचारप्रसार गर्ने भनेका थियौँ । तर, पोस्टर, भिजिटिङ कार्ड, पम्प्लेटलगायतबाट प्रचारप्रसार भएको पाइएको छ । छरपस्ट छरिएका पोस्टर स्वयंसेवक लगाएर हटाउँछौँ ।’ र, राष्ट्रिय सभागृह–आसपासमा बिहीबार साँझपख झाडु लगाएर सफा गरिएको थियो ।

सबैभन्दा बढी चासोमा महामन्त्रीको प्रतिस्पर्धा 
कांग्रेसमा सभापतिसहित १८ पदाधिकारीका लागि ७१ जना चुनावी मैदानमा छन् । सभापतिको प्रतिस्पर्धा खासै चर्चामा छैन । सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरे पनि प्रत्याशी किशोरसिंह राठोरले उम्मेदवारी फिर्ता लिएर गगनलाई नै समर्थन गरेका छन् । स्कुले जीवनमा गगनका गणित गुरु श्यामकृष्ण खड्गी सभापतिका लागि प्रतिस्पर्धामा छन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन् । शर्मा र भुसाल विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए ।

उपसभापतिमा खुलातर्फ दुई पदका लागि गोविन्द भट्टराई, चन्द्र भण्डारी, चन्द्रमोहन यादव, धनराज गुरुङ, दीपक गिरी, मधु आचार्य र सुरेन्द्र पाण्डे गरी सातजना प्रतिस्पर्धामा छन् । उनीहरूबिच तीव्र प्रतिस्पर्धा रहेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । नेतृत्वको आग्रहमा मीनेन्द्र रिजाल र देवराज चालिसेले भने उम्मेदवारी फिर्ता लिएका थिए । उनीहरूमध्ये विशेष महाधिवेशनमा भण्डारी र आचार्य मात्र सहभागी भएका थिए ।

समावेशी उपसभापतिमा एक पदका लागि पाँचजना चुनावी मैदानमा छन् । विनोद चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, रञ्जित कर्ण र सीता गुरुङ छन् । तत्कालीन सहमहामन्त्री मन्सुरलाई तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनमा लागेकै कारण तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै कारबाही गरेको थियो । चौधरी विशेष महाधिवेशनमा सहभागी भएका थिए ।

सबैभन्दा बढी चासो महामन्त्रीमा छ । खुला महामन्त्री दुई पदका लागि विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरेसहित आठ उम्मेदवार छन् । पौडेल र घिमिरे दुवैलाई विरासत जोगाउनुपर्ने चुनौती छ । विद्यार्थी राजनीतिबाट स्थापित दुवै चर्चित युवा नेता हुन् । विशेष महाधिवेशन सम्पन्न गर्न दुवैले महत्वपूर्ण भूमिका खेलेका छन् ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशन अगाडि बढाइरहेका वेला उनकै गृहजिल्लाका नेता नैनसिंह महर पनि महामन्त्रीका दाबेदार छन् । कर्णालीबाट निवर्तमान उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिमबाट शेरबहादुर देउवा नहुँदा भूगोल समेटेर कांग्रेसलाई अगाडि बढाउने उनको सोच छ । महर पनि विद्यार्थी राजनीतिबाटै आएका हुन् । महामन्त्रीका दाबेदार सुनील शर्मा अर्का चर्चित पात्र हुन् । राजनीतिका साथै स्वास्थ्य क्षेत्रबाट उनले सेवा गर्दै आएका छन् ।

विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका उदयशमशेर राणा पनि महामन्त्रीको दौडमा छन् । उनी देउवा पक्ष छाडेर विशेष महाधिवेशनमा सहभागी भएका थिए । राणा तरुण दलबाट स्थापित भएका नेता हुन् ।

गगनको टिममै बसेर विगतमा काम गरेका शंकर तिवारीले पनि महामन्त्रीमै उम्मेदवारी दिएका छन् । तिवारी यसअघि केन्द्रीय सदस्य पनि भएका छैनन् । उनले राजनीतिक विश्लेषकको रूपमा समेत परिचय बनाएका छन् । अमरसिंह पुन र डा. सन्तोष उपाध्याय पनि प्रत्याशी छन् । पुनः लुम्बिनी प्रदेशका सभापति हुन् भने उपाध्याय चिकित्सक पेसामा छन् ।

महिला महामन्त्रीमा डिला र डिनालाई रिताको चुनौती
विशेष महाधिवेशनमा सहभागी भएर सहमहामन्त्री बनेकी डा. डिला संग्रौला र १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’बिच महिला महामन्त्रीमा रोचक प्रतिस्पर्धा देखिएको छ । दुवै विद्यार्थी आन्दोलनबाट कांग्रेस राजनीतिमा स्थापित भएका हुन् । महिला महामन्त्रीमा रिता खनाल पनि दाबदार छिन् । उनी नेपाल ट्रेड युनियनबाट पार्टी राजनीतिमा आएकी हुन् । विगतमा निष्क्रिय रहेकी उनी विशेष महाधिवेशनपछि पुनः सक्रिय भएकी छिन् ।

कांग्रेसको विरासत बोकेको परिवार बाहिरै
कांग्रेसको राजनीतिक विरासत बोकेको परिवार १५औँ महाधिवेशनमा बाहिरै छ । कांग्रेस निर्माणमा बिपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिलगायत नेताहरूको उल्लेखनीय भूमिका रह्यो । पार्टी स्थापनादेखि राणाशासन र पञ्चायती व्यवस्था अन्त्य गर्दै बहुदलीय व्यवस्था स्थापनामा उनीहरूले नेतृत्वदायी भूमिका खेले । यी नेताका सन्तती यो महाधिवेशनमा बाहिरै छन् ।

कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा बिपीपुत्र शशांकको संयोजकत्वमा आगामी २१–२३ मंसिरमा समानान्तर १५औँ महाधिवेशन आयोजना गरिएको छ । जसमा गणेशमानपुत्र प्रकाशमान र महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि दाह्रो खम्बाका रूपमा उभिएका छन् । शशांक कांग्रेसमा पूर्वमहामन्त्री हुन् भने प्रकाशमान र विमलेन्द्र पूर्वउपसभापति हुन् ।

यसैतर्फ संकेत गर्दै सभापति गगन थापाले महाधिवेशन उद्घाटन सत्रमा खुलामञ्चबाटै भनेका थिए, ‘हाम्रो आत्मा त्यही हो, बिपी कोइरालाको हो, गणेशमानको हो । अहिले बिपी कोइरालाका छोरा कहाँ हुनुहुन्छ, गणेशमानका छोरा कहाँ हुनुहुन्छ, मलाई थाहा छैन । तर, आत्मा यहाँ छ, आत्मा त्यही हो ।’

कांग्रेसलाई दुई कार्यकाल नेतृत्व गरेका र बिपी, गणेशमान र महेन्द्रनारायणसँग समेत संगत गरेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि यो महाधिवेशनमा बाहिरै रहे । उनी आगामी २१–२३ मंसिरको समानान्तर महाधिवेशनमा प्रमुख अतिथि बन्दै छन् । कोइराला परिवारकै डा. शेखर कोइराला पनि यो महाधिवेशनमा सहभागी भएका छैनन् । उनी कांग्रेस विभाजनले देशलाई राम्रो नगर्ने निष्कर्षसहित दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने पक्षमा छन् ।

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला भने महाधिवेशनमा सहभागी छिन् । विशेष महाधिवेशनमा सहभागी नभएकी कोइरालालाई थापाले गत २१ फागुनको निर्वाचनपछि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । १५औँ महाधिवेशनमा सहभागी भए पनि उनी उम्मेदवार भने छैनन् । सानेपा स्रोतका अनुसार उनलाई मनोनीत कोटाबाट केन्द्रमा ल्याउने तयारी छ । मातृका कोइरालाकी नातिनी ऋचा पनि महाधिवेशनमा सहभागी छिन् । उनका बुवा दिवंगत कमल कोइराला कम्युनिस्ट नेता थिए ।

सुझावित समाचार