बुढीगण्डकीका तीन धक्का

सुरुमा भुइँचालो गएजस्तो आवाज आयो, लगत्तै बुढीगण्डकीमा पहिलो बाढी आयो । यसलाई चेतावनी मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए । जसका कारण पछि आएको लेदोसहितको ठुलो बाढीले घरखेत, पुल र जलविद्युत्मा क्षति पु¥याए पनि धेरै मानवीय क्षति हुनबाट जोगियो ।

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण
बुढीगण्डकीका तीन धक्का

बाढी आउँदाआउँदैको सोतीबजार । तस्बिर सौजन्य : आयुष मगरको फेसबुक

धादिङमा अर्जुन श्रेष्ठ/ गोरखाको चुम उपत्यकाको उङ्गिलुङ खोलामा खसेको पहिरोले स्यारखोला थुनेर आइतबार झिसमिसेमै बुढीगण्डकीमा आएको आकस्मिक बाढीले ठुलो भौतिक क्षति गरेको छ। संयोग ! पहिलो बाढीले चेतावनी दिएसँगै बुढीगण्डकीको तटीय क्षेत्रका स्थानीयले बस्ती छाडेपछि आएका दुई भयानक बाढीमा ठुलो मानवीय क्षति हुनबाट जोगियो ।

बाढीको पहिलो लहरपछि स्थानीयस्तरमा गरिएको सतर्कताका कारण नदीकिनारका बासिन्दाले घर छाडेर सुरक्षित स्थानमा जाने समय पाए । त्यसपछि आएको ठुलो बाढीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्यायो । ४५ घर पूर्ण र २७ घरमा आंशिक क्षति भएको छ । त्यस्तै, ३४ गोठ र बंगुरका १२ खोरमा क्षतिसँगै तीन सवारीसाधन बगाएको छ ।

दर्जनौँ घर डुबानमा परेका छन् । दुई पक्की पुल, एक बेलिब्रिज र दुई झोलुंगे पुल बगाएको छ भने चार जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीमा पाँच व्यक्ति बेपत्ता भएको विवरण छ । नौै विदेशीसहित ८२ जनाको उद्धार भएको छ । 

चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बिहान ४ः२५ बजेहाराहारी भुइँचालो आएजस्तो ठुलो आवाज सुनेर स्थानीयहरू ब्युँझिएका थिए । ‘एकले अर्कालाई फोन गरेर सूचना दिए, सामाजिक सञ्जालमा हल्ला फैलियो,’ उनले सुनाइन्, ‘पौने ५ बजे त बाढी नै आयो । त्यसपछि मैले आरुघाट गाउँपालिका अध्यक्षज्यूलाई फोन गरेर ठुलो बाढी आइरहेको जानकारी गराएँ ।’

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले स्थानीयबाट आएको सूचनाका आधारमा वेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको बताए । ‘हाम्रो पालिकाको वडा नम्बर ६ मा पर्ने चुम्लिङको उङ्गिलुङ  खोलामा सुक्खा पहिरो खसेको रहेछ,’ उनले भने । बाढीले चुमनुब्रीको सल्लेरी बजार बगाएको, जगत, घट्टेखोला र पैयुँमा क्षति भएको तथा पालिकाका पाँचजना बेपत्ता भएको उनले बताए । अध्यक्ष लामाका अनुसार पालिकाभर ३५ घर बगाएको छ । 

बुढीगण्डकी बाढीले आरुघाट गाउँपालिकामा ठुलो भौतिक क्षति गरेको छ । त्यहाँ दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ भने कम्तीमा ६२ घरमा बाढी पसेका छन् । आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले बाढी आइरहेको सूचना बिहान पाँच बजे नै आएपछि आफूहरू घर छाडेर उँचो स्थानतिर गएको बताए ।

‘चुमनुब्री गाउँपालिका उपाध्यक्ष र माथिल्लो भेगका अन्य स्थानीयले खबर गर्नुभएको थियो, त्यसपछि हामीले माइकिङ गरेर बस्ती खाली ग¥यौँ, ’ उनले भने, ‘सुरुमा त खासै ठुलो बाढी रहनेछ भन्ने लाग्यो । त्यसपछि फर्किन थालेका थियौँ । तर, अझ ठुलो बाढी आइरहेको छ, माथि पुल बगायो भन्ने खबर आयो । अनि घर फर्किन थालेकाहरू पनि सुरक्षित स्थानतिर लागे । हेर्दाहेर्दै आरुघाट बगायो । यस्तो बाढी योभन्दा अगाडि देखिएको थिएन ।’

बाढी सुरु भएको चुम्लिङ क्षेत्रबाट आरुघाट ५०–५२ किलोमिटर तल पर्छ । आरुघाटमा पहिलो बाढी बिहान साढे ६ बजे पुगेको देखिन्छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले आरुघाट जल मापन केन्द्रमा बिहान ६ बजे बुढीगण्डकीको बहाब २.२८ मिटर रहेको बताए । तर, त्यसको आधा घण्टापछि बढेर ३.३६ मिटर पुगेको देखिएको उनी बताउँछन् ।

महाशाखाका अनुसार आरुघाटमा बिहान ७: ५० बजे अर्काे बाढी आइपुगेको थियो । खतराको तह ४.५० मिटर रहेकामा बहाब ५.१ मिटर पुग्यो । त्यसपछि बहाब केही घटे पनि साढे ८ बजे फेरि बहाब बढेर ६.२२ मिटर पुगेको थियो । बहाब झन्–झन् बढेर ८ः४० मिनेटमा आरुघाटको पुल र मापन केन्द्र नै बगाएको थियो । 

‘आरुघाटभन्दा माथि हाम्रो स्टेसन छैन । बिहान ८: ४० बजे स्टेसन नै बगेपछि बाढी कति माथिसम्म पुगेको थियो भन्न सकिएन । तर, स्टेसन बग्नुअघिको रेकर्ड हेर्दा आठ मिटरसम्म बाढी आएको देखिन्छ,’ बाढी पूर्वानुमान महाशाखाका प्रमुख पराजुली भन्छन्, ‘बाढी बेनीघाट पुग्दा साबिकको बहाबमा तीन मिटर पानी थपिएको देखिन्छ ।’ 

पराजुलीले आफूहरूले मास एसएमएस पठाउनुअघि नै एक–अर्काबाट सूचना प्रवाह भएर बस्ती छाडेको देखिएको बताए । ‘भोटेकोशीजस्तो एकैपटक नभई तीनपटक गरेर बाढी आयो । पहिलो बाढी सानो थियो, त्यसले चेतावनी दियो,’ पराजुलीले भने, ‘स्थानीय घर छाडेर गइसकेपछि ठुलो बाढी आउँदा ठुलो मानवीय क्षति हुन पाएन ।’ गत १० भदौमा आएको भोटेकोशी/त्रिशूली बाढीको सिकाइले पनि काम गरेको उनको भनाइ छ । 

बाढी पूर्वानुमान महाशाखाले भने बिहान पौने ६ बजे मात्र सूचना पाएको थियो । ‘हामीलाई पालिका र प्रशासनबाट सूचना आएन । सामाजिक सञ्जालमा आएका भिडियो भेरिफाई गर्दै जाँदा बुढीगण्डकीमा बाढी आएको पक्का भयो । त्यसपछि प्रशासन र पालिकासँग सूचना लिएर मास एसएमएस पठाएका थियौँ,’ पराजुलीले भने । महाशाखाले नेपाल टेलिकम र एनसेलमार्फत बिहान साढे ६ बजे बेनीघाटसम्म र त्यसपछि बिहान ९ः२५ बजे मुग्लिन र चितवनसम्म एसएमएस पठाएको थियो । दुई लाख ६० हजार एसएमएस प्रवाह भएको उनले बताए । 

बुढीगण्डकी बाढीको खास कारण पहिरो
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढीगण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिँदा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका– ६, चुम्लिङनजिकैको उङ्गिलुङ खोलाबाट बहाब र गेग्य्रान आएर स्यारखोला थुनिएको थियो ।

स्यारखोला थुनिएर केही समयपछि फुट्दा बुढीगण्डकीमा लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ । उङ्गिलुङ खोलामा पहिरो खसेको हो कि हिमपहिरो भनेर यकिन हुन सकेको छैन । स्यारखोला थुनिएको भनिएको ठाउँबाट ५–६ किलोमिटर तल बुढीगण्डकीमा मिसिन्छ । 

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार उङ्गिलुङ खोलामाथि शनिबार साँझसम्म पहिरो देखिँदैन । तर, बिहान भने पहिरो देखिन्छ । ‘त्यहाँमाथि साना हिमताल पनि छन्,’ उनले भने, ‘हिमताल फुटेको हो कि पहिरो खसेको हो वा दुवै घटना भएका हुन्, कतिखेर भएको हो भनेर यकिन भइसकेको छैन ।’ नेपाल मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार बाढी आउनुअघिका २४ घण्टामा त्यस क्षेत्रमा छिटपुट वर्षा मात्र भएको थियो । 

कहाँ कति क्षति ?
गोरखाको धार्चे गाउँपालिका– ५, माछीखोलास्थित तल्लो बस्तीका सात घर र पाँच–सात टहरामा बाढी पसेको छ । धार्चे सल्लेरीस्थित २०–२२ घर जोखिममा छन् । आरुघाट– ५, शान्तिबजारका ५० घर डुबानमा परेका छन् । बाढीका कारण ४५ घरमा पूर्ण र २७ घरमा आंशिक क्षति भएको छ । ३४ गोठमा क्षति, १२ बटा बंगुरको खोर तथा गोदाममा क्षतिसँगै तीन सवारीसाधन बगाएको छ । बाढीले चुमनुब्री न्याकचेतस्थित न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल, गोरखाको धार्चे गाउँपालिका– ५, माछीखोला र केरौजा जोड्ने झोलुंगे पुल, आरुघाट– २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्कीपुलसमेत बाढीले बगाएको छ ।

धादिङ–गोरखा जोड्ने आरुघाटको पक्की पुल बगायो, धादिङका ५८ घरपरिवार विस्थापित 
बुढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुल बगाउनुका साथै धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– २, आरुघाटस्थित स्याउलीबजारको सुकुमबासी बस्ती नै बगाएको छ । बस्तीका ५८ परिवारका घरटहरा बगाएपछि उनीहरू विस्थापित भएका छन् ।

बाढीले बस्तीको नामोनिसाना नै नरहने गरी घरटहरा बगाएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । ‘विस्थापित परिवारलाई चुलीदेवी माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर बनाएर राखिएको छ,’ उनले भने, ‘गाउँपालिकाले बिहानैदेखि होल्डिङ सेन्टरमा खानाखाजाको व्यवस्था गरेको छ । छिमेकीले खाना पकाउन र खुवाउन सहयोग गरेका छन् । विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न तथा लत्ताकपडाको व्यवस्थापन भइरहेको छ ।’

तत्कालका लागि प्रभावित परिवारको खानपिन र बसोबासको व्यवस्था मिलाइए पनि बस्ती नै बगाएकाले दीर्घकालीन पुनस्र्थापनाका लागि छलफल गरेर विकल्प खोजिने उनले बताए । ‘बाढीले बस्तीसँगै त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा समेत क्षति पु¥याएको छ । गत जेठमा निर्माण गरिएको हवनकुण्ड बगाएको छ भने मन्दिरआसपास कटान गरेको छ । बाढीले ल्याएको लेदो जमेको र अर्को क्षेत्रमा पहिरो गएपछि आश्रमस्थलसमेत जोखिममा परेको छ,’ उनले भने । 

कम्बल, त्रिपाल, म्याट, झुल, हाइजिन किट, डोरी, बाल्टी, मगलगायत गैरखाद्य सामग्रीहरू वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभकुमार तामाङले बताए । ‘तत्कालका लागि गैरखाद्य सामग्री वितरण गरिएको छ । आवश्यकताको आधारमा थप सामाग्री वितरण गर्छाैँ,’ उनले भने । 

उद्धार गरी काठमाडौं ल्याइएका चुमनुब्री– ३ का विशाल घलेले भने–तीन मिनेटले बाँच्यौँ
मेरो घर चुमनुब्री– ३, जगत बगरमा हो । बुढीगण्डकी नदीको किनारदेखि करिब एक सय मिटरको उचाइमा पर्छ । छोरा, श्रीमती र म सुतिरहेका थियौँ । माथि बाढी आएको ठाउँबाट साढे चार बजे फोन आयो । छिटो–छिटो भाग भन्यो । जुरुक्क उठेर माथितिर भाग्यौँ । तीन मिनेटको बाटो उक्लिएपछि फर्किएर हेर्दा घर बाढीले लग्दै थियो । 
 

सुझावित समाचार