तातोपानी नाका दसैँअघि नै खुल्ने

कोरोला नाकाबाट आयात बन्द  भएपछि तातोपानी खुलाउने चिनियाँ तयारी

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण
  • नाका खुल्ने भएसँगै कार्यालय फर्किए तातोपानी भन्सारका कर्मचारी 
  • फलफूल बोकेका ४० फिटे चिनियाँ कन्टेनर न्यालम क्षेत्रमा लाइनमा 
  • चीनको तिब्बत क्षेत्रमा रहेका मालवाहक कन्टेनर पनि कोरोला नाकातर्फ नगई खासा क्षेत्रमा फर्किन थाले

सिन्धुपाल्चोक/दसैँतिहारलक्षित सामान तथा ठुला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका सञ्चालनको तयारी गरेको छ । गत १५ भदौदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका केही दिनभित्र खुल्ने जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार चिनियाँ पक्षले नाका सञ्चालनको तयारी गरिरहेको छ । नाका खुल्ने अपेक्षासँगै तातोपानी भन्सारका कर्मचारी पनि कार्यालय फर्किएका छन् । ‘सीमामा रहेका न्यालम काउन्टीका चिनियाँ कर्मचारी जाङ्मु पोर्टबाट धमाधम मितेरी पुल लिपिङ आउने क्रम जारी रहेको जानकारी चिनियाँ पक्षबाट आएको छ । प्राप्त जानकारीअनुसार अब केही दिनभित्र तातोपानी नाकाबाट आयात सुचारु हुन्छ,’ गिरीले भने, ‘नाका सञ्चालन हुने भएकाले तातोपानी भन्सारका कर्मचारी सबै कार्यालय फर्किसकेका छन् ।’

न्यालम काउन्टीको जाङ्मु पोर्ट कमर्स शाखाले प्राकृतिक विपत्को जोखिमलाई ध्यानमा राख्दै भनेर गत १५ भदौमा अर्को सूचना नभएसम्म तातोपानी नाकाबाट कन्टेनर पठाउन रोकिएको जानकारी गराएको थियो । मानवीय सुरक्षालाई कारण देखाउँदै चिनियाँ प्रशासनले आयात रोकेको थियो ।

गिरीका अनुसार चिनियाँ पक्षले दसैँतिहारलक्षित तयारी पोसाक, फलफूल र ठुला आयोजनाका उपकरण पठाउन आवश्यक तयारी गरिरहेको छ । चीनको न्यालम क्षेत्रमा रहेका कर्मचारी जाङ्मु पोर्ट हुँदै मितेरी पुल र लिपिङतर्फ आउने क्रम जारी रहेको उनले बताए ।

चिनियाँ क्षेत्रमा रहेका ट्रान्सपोर्ट कम्पनीले न्यालम, बिम्बु, ठिङरीलगायत क्षेत्रमा रहेका मालवाहक कन्टेनर धमाधम खासा ल्याउन लागेका छन् । जाङ्मु पोर्टस्थित कमर्स शाखाले ट्रान्सपोर्ट कम्पनीहरूलाई सामानको विवरण बुझाउन सूचना जारी गरिसकेको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य तथा फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार फलफूल बोकेका ४० फिटे चिनियाँ कन्टेनर न्यालम क्षेत्रमा आएर लाइनमा बसेका छन् । दसैँअघि कोरोला नाकाबाट फलफूल ल्याउन सम्भव नभएकाले तातोपानी नाका सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

चीनसँग जोडिएको नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी गत १० भदौको बाढीबाट धवस्त बनेको छ । त्यसपछि मुस्ताङको कोरोला नाकाबाट आयात भइरहेको थियो । तर, असोज दोस्रो साताको बाढीले बेनी–जोमसोम सडकखण्डमा पहिरो जाँदा आयातनिर्यात रोकिएको छ । दुई सय कन्टेनर र सयौँ विद्युतीय सवारीसाधन मुस्ताङ क्षेत्रमा रोकिएका छन् ।

खुलिसकेको छ कोदारी राजमार्ग 
तातोपानीतर्फ नेपाली भूभागमा बाह्रबिसेदेखि लिपिङसम्मको सडकमा पहिरो पन्छाएर कोदारी राजमार्गको आवागमन खुलाइसकिएको छ । सडक डिभिजनले जीर्ण सडक तथा पहिरोले अवरुद्ध भएका स्थान खुलाएपछि अहिले ४० फिटे कन्टेनरसमेत आवतजावत गर्न सक्ने अवस्था रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश  गिरीले बताए । यसअघि ६ असोजमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पनि नेपाली भूभागमा तातोपानी नाका सञ्चालन गर्न समस्या नरहेको बताएका थिए । 
 

सुझावित समाचार