विरोधपछि ओलीमाथि दबाब : स्थायी समिति र पोलिटब्युरो विस्तार अनिश्चित

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण

स्थायी समितिभित्र विरोध भएपछि मापदण्डविनै स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्य मनोनयन गर्ने अध्यक्ष केपी ओलीको तयारी रोकिएको छ । शनिबार सम्पन्न स्थायी समिति बैठकले स्थायी समिति र पोलिटब्युरो सदस्य मनोनयन गर्ने एजेन्डा स्थगित गर्दै १३ जना केन्द्रीय सदस्य मात्रै मनोनयन गरेको छ ।

महासचिव शंकर पोखरेलसँग शुक्रबार राति भएको परामर्शपछि अध्यक्ष ओली आवश्यक परामर्श र गृहकार्यका आधारमा मात्रै स्थायी समिति तथा पोलिटब्युरो सदस्य मनोनयन टुंग्याउन सहमत भएका छन् । महासचिव पोखरेलसहित स्थायी समितिका धेरै नेता मापदण्डविनै सदस्य मनोनयन गर्ने ओलीको योजनाको विपक्षमा उभिएका थिए ।

बैठकले १३ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ । मनोनीत हुनेमा डबल पाण्डे (दोलखा), सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा) र डा. पुष्पा केसी भण्डारी (कास्की) छन् । त्यस्तै, धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङबुहाङ (ताप्लेजुङ), नवीन रोका (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा) र तेजेन्द्र केसी (रुपन्देही) छन् ।

बैठकपछि सचिव छविलाल विश्वकर्माले विधानअनुसार मनोनयन गर्न बाँकी १२ जना र अन्य पार्टीबाट समायोजन भएका एक जनासहित १३ जना केन्द्रीय सदस्य मात्रै मनोनयन गरिएको बताए । स्थायी समिति र पोलिटब्युरो सदस्य मनोनयनका लागि आवश्यक गृहकार्यपछि अर्को बैठकमा प्रस्ताव पेस गर्ने सहमतिसहित बैठक टुंगिएको उनले बताए ।

‘मनोनयन हुन बाँकी केन्द्रीय सदस्यको निर्णय गरिएको छ । अन्य विषयमा आवश्यक गृहकार्यपछि उपयुक्त समयमा छलफलका लागि प्रस्ताव आउनेछ,’ विश्वकर्माले भने, ‘स्थायी समिति र पोलिटब्युरो सदस्य मनोनयनका मापदण्डमा थप स्पष्टता खोजेर अर्को बैठकमा प्रस्ताव पेस गरिनेछ ।’

त्यस्तै, बैठकले पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका जिल्ला अध्यक्षको चयन जिल्ला तहकै बैठकबाट गर्ने निर्णय गरेको छ । जिल्ला तहबाट अध्यक्ष चयन गरी संगठन कमिटीमा रूपान्तरण गरेर माथिल्लो कमिटीको अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख नीरज आचार्यले बताए । बैठकले पार्टीका वडा तहका कमिटीहरूको अधिवेशन आगामी २६ मंसिरमा तथा नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन ४ पुसमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरिएको छ । भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष–उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन् ।

पालिका र वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, मधेश प्रदेश सभा सदस्य जैविक खातुनको निधनपछि समानुपातिकतर्फ रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरिएको छ ।
 

सुझावित समाचार