राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी ०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको बताएका हुन् ।
अनुदान सम्झौता गरेका आठ लाख ११ हजार सात सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या सात लाख ५३ हजार एक सय चार रहेको र उक्त संख्या ९३ प्रतिशत हुने बताए । यस्तै, पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको पनि बताए । यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने पनि बताए । निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार नाै सय ७३ गुनासाको सम्बोधन गरिएको पनि बताए ।
भूकम्पपछि दुई सय ९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार सात सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार सात सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना भइरहेको पनि बताए । क्षतिग्रस्त नाै सय २० सम्पदामध्ये चार सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइकसकेको छ भने दुई सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको र धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन गरिने पनि सिइओ ज्ञवालीले बताए ।
सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पुनर्निर्माण सम्पन्न भई गत वर्षदेखि सञ्चालनमा आइसकेको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्वीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरूको जिर्णोद्धार गर्ने कार्य जारी रहेको सिइओ ज्ञवालीले बताए । क्षति भई मर्मत गर्नुपर्ने चार सय दुई गुमबामध्ये दुई सय ९४ वटा सम्पन्न भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने आठ सय ९५ मध्ये एक सयभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी प्लिथ एरिया भएका दुई सय ६४ वटा गुम्बामध्ये ३६ वटा र एक सय वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये एक सय एकवटाको पुनर्निर्माण कार्य अगाडि बढिसकेको छ ।
भूकम्पबाट क्षतिग्रस्त कुल सात हजार पाँच सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ, बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन् । यस्तै, एक हजार एक सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको र दुई सय ९६ को पुनर्निर्माण जारी छ । कुल चार सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सुरक्षा निकायका दुई सय १६ संरचनामध्ये दुई सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यसबाहेक सडकतर्फ सात सय ६२ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेमा पाँच सय २५ किलोमिटर पुनर्निर्माण सम्पन्न भएको सिइओ ज्ञवालीले बताए ।
पुनर्निर्माणका लागि दाता सम्मेलनमार्फत छिमेकी मुलुकहरू तथा मित्रराष्ट्र तथा गैरसरकारी संस्थाहरूबाट प्रतिबद्धता प्राप्त भएको चार खर्ब १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएकाले वास्तविक प्रतिबद्धता दुई खर्ब ९४ अर्ब रुपैयाँ मात्र भएको सिइओ ज्ञवालीले स्पष्ट पारे । यसमध्ये दुई सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको बताए । गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ ।
यो अवधिमा भत्केका संरचनाहरू मात्र पुनर्निर्माण भएका छैनन् । पुनर्निर्माण अभियानले महत्वपूर्ण गुणात्मक परिवर्तनसमेत ल्याएको सिइओ ज्ञवालीले बताए । करिब ४० करोड ७५ लाख कार्यदिनबराबरको रोजगारी सिर्जना भएको पनि बताए । त्यसबाहेक सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठलगायतका उद्योगहरूको प्रवर्द्धनमा टेवा पुगेको पनि बताए ।
भूकम्प र त्यसपछिको परकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाको मूल उद्देश्यसहित ०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो । प्राधिकरण स्थापना भएको ६४ महिना पुगेको छ । यो अवधिमा विपतलाई अवसरका रूपमा उपयोग गरी भूकम्पप्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवं पुरातात्विक सम्पदासहित ठूलो संख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्प प्रतिरोधी ढंगले पुनर्निर्माण गर्ने काम भइरहेको प्राधिकरणले बताएको छ ।