प्रतिपक्षी दलको अवरोधका कारण प्रदेश १ सभाको शुक्रबारको बैठक तीन दिनका लागि स्थगित भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएसँगै सुरु भएकाे सातौँ तथा हिउँदे अधिवेशनको जारी बैठक प्रतिपक्षी दलहरूले सरकारले पारदर्शी काम नगरेको भन्दै अवरोध गर्न थालेपछि निरन्तर स्थगित हुँदै आएको हो ।
मुख्यमन्त्री राईविरुद्धको प्रस्ताव फिर्ता भएपछि २६ चैतमा बसेको सातौँ तथा हिउँदे अधिवेशनको छैटाैँ बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो । शुक्रबार बसेको सातौंँ बैठक पनि प्रतिपक्षी दलका सांसदले उठेर अवरोध गरेपछि तीन दिनसम्मका लागि स्थगित भएको छ ।
उपसभामुख सरस्वती पोखरेलले बैठक सञ्चालनमा सहयोग गर्न पटकपटक सांसदहरूलाई आग्रह गरिन्, तर उनीहरू सहमत नभएपछि ३० चैतसम्मका लागि संसद्को बैठक स्थगित भएको घोषणा गरिन् ।