बल्देधुरी घटनामा संलग्न आठजना प्रहरीद्वारा सार्वजनिक

शुक्रबार, २० चैत, २०७७
डिजिटल संस्करण

गत आइतबार फागुपूर्णिमाको दिन जिल्लाको बडिगाड गाउँपालिका– १० बल्देधुरीको घटनामा संलग्न आठजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बाग्लुङले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न आठजनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार हालसम्म बडिगाड गाउँपालिका वडा नम्बर १० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

होली खेल्ने क्रममा बडिगाड गाउँपालिका– १० र निसीखोला गाउँपालिका– ७ का युवाहरूबीच दोहोरो झडप हुँदा दुईजनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका– ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको ज्यान गएको थियो । कुँवर नेपाली कांग्रेसको जिल्ला सदस्य हुन् भने दमाईं कांग्रेसका कार्यकर्ता हुन् । 

प्रहरीले मिलन बुढामगर र रेशम बुढामगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढामगरलाई बुर्तिबाङ, सूर्य बुढामगर र ढालबहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको र दुईजना जिल्ला प्रशासनमा आएर आत्मसमर्पण गरेको प्रहरी प्रमुख पल्लीमगरले बताए । घटनामा धेरै युवाहरू संलग्न भएको भन्दै अनुसन्धानका लागि अहिले पनि प्रहरी खटिएको छ ।  

पक्राउ परेका आठजनालाई अदालतबाट म्याद थपी अनुसन्धान सुरु गरिएको एसपी मगरको भनाइ छ । घटनामा संलग्न थप प्रतिवादीलाई खोज–अनुसन्धानका प्रक्रिया  नियमित रहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार