थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

यसअघि चार डलरमा खरिद गरिएको खोप साढे पाँच डलरमा खरिद गर्ने तयारी

सोमबार, १७ फागुन, २०७७
डिजिटल संस्करण

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने तयारी गरेको छ । प्रतिडोज साढे पाँच डलरका दरले खोप खरिद गर्न सरकारले उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई प्रस्ताव पठाइसकेको छ । 
यसअघि सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । तीमध्ये १० लाख डोज आउन बाँकी छन् । त्यतिखेर प्रतिडोज चार डलरका दरले भुक्तानी गरिएको थियो । 

तर, अहिले भने प्रतिडोज साढे पाँच डलरमा खरिद गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाका एक अधिकारीले बताए । ‘सेरमसँग साढे पाँच डलरमा खोप खरिद गर्ने नेपालले प्रस्ताव पठाइसकेको छ,’ उनले भने, ‘सेरमले त्यसको जवाफ भने पठाइसकेको छैन । जवाफ प्राप्त हुनासाथ खरिद प्रक्रिया अगाडि बढाइनेछ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पनि ५० लाख डोज खोप खरिद गर्न लागेको बताए । तर, मूल्यका विषयमा भने जानकारी नभएको उनको भनाइ छ । सेरमले खोपको मूल्य मनलाग्दी राखेको स्वास्थ्यका अधिकारीहरूको भनाइ छ । यसअघि बंगलादेशले प्रतिडोज ६ डलरमा बुक गरेको खोप अन्तिममा साढे पाँच डलरमा खरिद गरेको थियो । युरोपका कतिपय देशले तीन डलरमा पनि सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद गरेका छन् । 

तर, नेपालले भने दोस्रोपटक झन् धेरै संख्यामा खोप खरिद गर्दा मूल्य पनि बढी तिर्ने देखिएको छ । स्वास्थ्यका अधिकारीहरूका अनुसार सरकारले सीधै कम्पनीसँग किने पनि कम्पनीबाट बिचौलियाले कमिसन लिने भएकाले खोप महँगो पर्ने देखिएको हो । ‘सकेसम्म कम मूल्यमै किन्ने प्रयास गरिरहेका छौँ । तर, पहिला किनेको चार डलरमा पाउने सम्भावना भने देखिएको छैन,’ अर्का एक अधिकारीले भने ।

 यसअघि खरिद गरिएका २० लाखमध्ये आउन बाँकी १० लाख डोज केही दिनभित्रै आउने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले बताए । खोपको म्याद कम भएकाले चरण–चरणमा ल्याउन लागिएको उनको भनाइ छ । 

सरकारले आगामी २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दै छ । यो चरणमा ५५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिइनेछ । कुल ७२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ । अहिलेसम्म १.४ प्रतिशत नागरिकले मात्रै खोप पाएको छ । ८ माघमा भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएपछि १४ माघदेखि खोप अभियान सुरु गरिएको थियो । हालसम्म चार लाख २८ हजारले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

See More On

सुझावित समाचार