भागरथीका आफन्त भेट्न चडेपानी पुगे कांग्रेस नेता लेखक

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले आइतबार भागरथी भट्टका आफन्तसँग भेटघाट गरेका छन् । भागरथी हत्याको विषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका लेखकले चडेपानीमै गएर भागरथीका आफन्तसँग भेटघाट गरेको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । 

कांग्रेसले भागरथी हत्याका विषयमा सत्यतथ्य बुझ्न केन्द्रीय सदस्य लेखकलाई बैतडी खटाएको थियो । शनिबार कांग्रेसका नेताहरूसँग छलफल गरेका लेखक आइतबार चडेपानीमै पुगेर मृतकका आफन्तसँग भेटघाट गरेका हुन् । 

भेटघाटका क्रममा लेखकले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्,  ‘भागरथीका हत्यारा पत्ता लगाउन हामीले सम्पूर्ण सहयोग गर्छौँ । राज्य पक्षलाई पनि हामीले दोषी छिटो पत्ता लगाई कारबाही गर्न आग्रह गरेका छौँ ।’

भागरथीका हत्यारा पत्ता लगाउने कार्य सबैको प्राथमिकतामा रहेको बताउँदै नेता लेखकले महिलामाथि हुने जुनसुकै प्रकारका हिंसाविरुद्ध आफ्नो पार्टी लागिपरेको बताए । 

लेखकले घटनाको विषयमा पार्टीको केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउनेछन् । घटनाका विषयमा पार्टीका तर्फबाट गरिएको अध्ययनको निष्कर्षसहित प्रतिवेदन बुझाउने बताइएको छ । 

यसैबीच, कांग्रेसले मृतक भागरथीका आमा द्रोपती भट्टलाई दुई लाख नगद सहयोग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतककी आमालाई हस्तान्तरण गरेका हुन् । मृतकका आमालाई केही सहयोग पुगोस् भनेर पार्टीका तर्फबाट सहयोग गरिएको लेखकले बताए ।

सुझावित समाचार