प्रधानमन्त्री ओलीको आरोप– माधव नेपालले सुकुमबासी समस्या समाधान गर्न दिएनन् (भिडियोसहित)

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सुकुमबासी समस्या समाधान गर्ने सरकारको प्रयासमा अवरोध सिर्जना गर्ने काम भएको बताएका छन् । भूमिहीन सुकुमबासी संगठन केन्द्रीय कमिटीले काठमाडौंमा बुधबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले सुकुमबासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पु¥याएको बताएका हुन् । 

नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिँदै उनले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे । उनले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो । माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्दा लगाएर लच्चिएकोलच्चियै काम हुन पाएन । भूमि व्यवस्था समाधान हुन नदिने, एउटा हाजिरीजवाफ प्रतियोगिताजस्तो चलाइहालुँ । तपाईंहरूलाई म सोध्छु । सुकुमबासी समस्या समाधान हुन नदिने नेताहरूमध्येको मुख्य नेता को हो ? माधव नेपाल । बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुमबासी मानसिकताको वकिलले मुद्दा हालेर त्यो आयोगले काम गर्न पाएन । र, यसपटक फेरि हामीले आयोग बनाउनुप¥यो । यो आयोग बनाउन थालेको लगभग तीन वर्ष भयो । पार्टी छोडेर माधव नेपाल ‘पाटी’तिर गएपछि बल्ल आयोग पूरा भयो ।’

प्रधानमन्त्री ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै ‘छलफलवाला मान्छे’को संज्ञा दिए । उनले भने, ‘माधव नेपाल र नारायणकाजी भन्ने दुईजना मान्छे पार्टीमा थिए । तिनीहरू सधैँ छलफल हुनुपर्छ भन्ने । जतिवेला पनि छलफल हुनुपर्छ भन्ने । छलफलवाला मान्छे मैले नेपालमा भेटाएको तीनजना । एउटा माधव नेपाल, अर्को नारायणकाजी श्रेष्ठ, अर्को घनश्याम भुसाल । जहिले जेमा पनि छलफल हुनुपर्छ । छलफल गर्नुपर्छ । सुकुमबासी आयोग बनाऔँ । छलफल गर्नुपर्छ । बनायो । किन बनाइयो ? छलफल हुनुपर्छ । पूर्णता दिऊँ । छलफल हुनुपर्छ । प्रतिनिधि मागौँ । होइन छलफल हुनुपर्छ । छलफलवाला मान्छेहरूले पार्टी छोडे पाटीतिर लागे । तिनीहरूको पाटीको वास हुन थालेपछि आयोग बन्यो । पूर्णता पाएको छ । काम बन्छ ।’

उनले पार्टीमा शुद्धीकरण आवश्यक रहेको र शुद्धीकरण आवश्यक रहेकाहरू आफैँ किनारा लागेको बताए । पार्टी छोडेर पाटीमा गएकाहरूले आफ्नो अभीष्ट पूरा गर्न नेपाल बन्द गरेर जनतालाई दुःख दिने काम गरेको बताए । उनले भने, ‘उनीहरू किन छटपटाएका छन् ? नेपाल बन्द रे ? जनताले के बिगारेको थियो र ? जनतालाई किन दुःख दिनुप¥यो नेपाल बन्द गरेर ? पार्टी छोडेर आफूहरू पाटीमा लाग्छन् । अनि बन्द गरेर जनतालाई दुःख दिने ? बन्द भन्या के ? हिँडडुल गर्न नपाउने । बन्द भन्या के ? पसल खोल्न नपाउने । किन्न जान नपाउने । पढ्न जान नपाउने । बन्द भनेको जनतालाई दुःख दिने । त्यो किन गर्नुपरेको छ ? केका लागि गर्नुप¥यो बन्द ?’

आफूलाई कम्युनिस्ट र क्रान्तिकारी भन्नेहरू नै आफ्नै पार्टीलाई धुलो बनाएर अरूसँग घुँडा टेक्न पुगेको टिप्पणी ओलीको छ । उनले भने, ‘अस्ति माधवकुमार नेपाल शेरबहादुर देउवाजी कोमा गएका थिए । रामका अगाडि हनुमान घुँडा टेकेर बसेजसरी बसेका थिए । अब दुई वर्षको प्रधानमन्त्री तपाईं नै हो । तपाईंलाई नै दिन्छौँ । दुई वर्षको प्रधानमन्त्री खानुहोस् । लेखेर दिन्छाँै क्या लेखेर दिन्छौँ । सही गरेर दिन्छौँ । अनि क्रान्तिका गफ गरेछन् बाहिर निस्केर । कम्युनिस्ट पार्टी धुलो पार्न खोज्ने अनि अन्त गएर घुँडा टेकेर, प्रणाम गरेर, लिखित दिन्छौँ भनेर, ल्याप्चे लगाएर क्रान्तिकारिताको गफ दिने ? उहाँहरू जे हो त्यही प्रकट हुँदै छ । जे हो त्यही देखिँदै छ । मुखुण्डो खुइलियो ।’
ओलीले शुक्रबारको सभामा आउन सबैलाई निम्तो पनि दिए । उनले भने, ‘निम्ता गर्दा चु लेख्ने चलन हुन्छ नि । चुले निम्तो होइन । गा लेखेको छ । टो लेखेको छ । वा लेखेको छ । अथवा गाउँ नै निम्तो, टोलै निम्तो, वाडै निम्तो । त्यसै हिसाबले आउनुहोला । पर्सि हाम्रो भेट हुनेछ । बाँकी कुरा त्यहीँ राख्नेछु ।’

केही मान्छेहरू सरकारलाई असफल बनाउन लागिपरे पनि सरकार आफ्नो उद्देश्यमा कटिबद्ध रहेको उनले दाबी गरे । उनले भने, ‘सरकार आफ्नो उद्देश्यमा फेल हुन तयार छैन । फेल गर्न त लाग्छन् केही मान्छेहरू । छलफल गर्नुपर्छ भन्ने मान्छेहरू । उनीहरूलाई कुरा फिट्नमा आनन्द छ । काम गर्न होइन । काम गर्न नदिने, कुरा फिटेर बस्नुपर्छ ।’

उनले सुकुमबासी समस्या समाधानको विषय मूलभूत विषय भएको भन्दै सरकार समस्या समाधान गर्ने काममा लागेको जिकिर गरे ।

सुझावित समाचार