चीनले नेपाललाई पहिलो चरणमा कोभिड– १९ विरुद्ध तीन लाख डोज खोप अनुदानमा दिने सार्वजनिक गरेको छ । चीनले डेढ लाखजनालाई हुने गरी चीनको सिनोफार्मले उत्पादन गरेको खोप दिने भएको हो । नेपालस्थित चिनियाँ राजदूतावासले यो खोप दुई करोड ४० लाख डोज प्रयोगमा आइसकेको पनि जानकारी दिएको छ ।
‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ चिनियाँ दूतावासद्वारा आइतबार साँझ जारी प्रेसनोटमा उल्लेख छ, ‘राष्ट्रपति सी जिनपिङको प्रतिबद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामग्रीका रूपमा उपलब्ध गराउनेछ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय गरेको छ ।’
चीन र बाहिर व्यापक रूपमा खोपको माग बढिरहेका वेला चीन सरकारले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि चिनियाँ दूतावासले भनेको छ, ‘खोप उपलब्ध गराएर चीनले नेपाल चीन मित्रतालाई ठूलो महत्व दिएको छ ।’
सिनोफार्मले तयार गरेको खोप दुई चरणमा लगाएपछि यसले कोभिडविरुद्ध करिब ७९.३४ प्रतिशत प्रभावकारिता देखाएको छ । जसले ९९.५२ प्रतिशत एन्टिबडी बनाएको पनि चिनियाँ दूतावासले जनाएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको यो खोपले अन्य मुुलुकहरूबाट पनि मान्यता पाएको छ । खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरीलगायत १३ देशमा आपतकालीन प्रयोगका लागि मान्यता पाएको छ ।
नेपालका सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा चिनियाँ दूतावासले आपतकालीन उपयोगका लागि यो खोपको दर्ता प्रक्रिया अघि बढाएको र चाँडै नेपालमा आपूर्ति हुनेसमेत दूतावासले जनाएको छ ।