सहिदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख : प्रधानमन्त्री

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताएका छन् ।  

सहसद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकारसम्पन्न बनाई सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए । प्रधानमन्त्री ओलीले सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको बताए ।    

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ । ‘सुस्थिर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ,’ सन्देशमा उनले भनेका छन्, ‘हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिक रूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्नेछौँ । हाम्रा अमर सहिदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।’     

लोकतान्त्रिक अधिकार, कानुनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा गरेको उनले बताए ।  

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृंखला अघि बढेको भन्दै उनले भने, ‘हाम्रा प्रातः स्मरणीय सहिदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै सहिदका सपनालाई मूर्तरूप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।’  

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपत्मा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएकोसमेत बताएका छन् । उनले सरकारले थालनी गरेका विकासका दूरगामी योजनाले जनताको जीवनमा परिवर्तन ल्याउने उल्लेख गरे । सबैलाई समाज र राष्ट्रको हितमा नि:स्वार्थ रूपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा उनले सन्देशमा उल्लेख गरेका छन्।

जहानियाँ राणाशासन, निरंकुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरंकुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा सहिदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उनको भनाइ रहेको छ ।  

जहानियाँ राणा शासनविरुद्धको संघर्षका क्रममा वि.सं. १९९७ मा नेपाल आमाका वीर सपुत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गरेका थिए । 

बलिदानको त्यही गाथालाई हामीले सहिद सप्ताहका रूपमा मनाउने गरेका छौँ । सोही संघर्षको भावभूमिबाट जनसंघर्षको ज्वार उठेर वि.सं. २००७ मा एक सय चार वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो ।     

सुझावित समाचार