प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पक्की गाह्राे र टिनको छानासहित घर बनाइदिने गरी प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीले शिलान्याससमेत गरिसकेको घर निर्माणको काम वनले रोक्का गरेको छ ।
पक्की घर पाउने आशामा वर्षौँदेखि बस्दै आएको झुप्रो भत्काएर शिलान्याससमेत गरिएको घर निर्माण रोकिएपछि सिराहाको नरहा गाउँपालिका– ३ नयाँ चोहर्वाका चार घरधुरी डोमहरूकोे शीतलहरमा बिचल्ली भएको छ । बस्तीकी करिब ६० वर्षीया लिलम मल्लिक भन्छिन्, ‘बस्ने झुप्रो भत्काएपछि टाउको लुकाउने ठाउँसमेत छैन, चिसोमा स–साना नाति–नातिनी, तीन महिनाकी सुत्केरी बुहारीलाई जोगाउन मुस्किल परेको छ ।’
‘चिसोमा भुइँमा पराल ओछ्याएर बुहारी, नातिनातिनीहरू एकै ठाउँमा सुत्ने गरेका छौँ,’ उनले भनिन् । उनका पति करिब ६५ वर्षीय बिल्टु मल्लिक भन्छन्, ‘ऐलानी जग्गामा बसेको तीन पुस्ता बित्दै छ, कहिले नम्बरी, कहिले वनको भन्दै दुःख झेल्न बाध्य छौँ ।’ घर नहुँदा छोराहरू सञ्जय, भगलु, भाइ बेचु र उनका छोराहरू मनोज, मञ्जय, तिनका परिवार बाँकी रहेको एक/एकवटा झुप्रोमा सुत्न बाध्य रहेको उनले बताए ।

निर्माण थालनी नहुँदै रोक्का
गत १४ पुसमा प्रदेश सरकारका उद्योग पर्यटन तथा वन राज्यमन्त्री सुरेश मण्डल, नरहा– ३ का वडाध्यक्ष अनिसुल मियाँ, स्थानीय अगुवाहरूको उपस्थितिमा शिलान्यास गरिएको घर निर्माण थालनी नहुँदै रोक्का भएपछि डोमहरू घरको न घाटको भएका छन् । पछिल्लो पाँच वर्षको अवधिमा भूमाफियाहरूको सेटिङमा तीनपटकसम्म घर तोडफोड गरिएको गुनासो गर्छन्, बिल्टु । ‘दुई पल्ट किर्ते गरेर जग्गा हत्याएका व्यक्तिले मेरो जग्गा हो भन्दै डोजर चलाए,’ उनले भने, ‘अहिले बन्न लागेको घर वनको हो भन्दै रोक्का गरे, कहाँ जाऊँं लालाबाला लिएर ?’
उनका अनुसार वर्षौँदेखि बस्दै आएको जग्गा मेरो हो भन्दै स्थानीय भरतराज शर्माले डोजर लगाएर दुईपल्ट घर भत्काइदिएका थिए । उनले भने, ‘यसपल्ट त मन्त्रीले नै शिलान्यास गरेको घर बन्ला भन्ने आसमा झुपडी भत्कायौँ, शिलान्यास गरिएको जग्गा सामुदायिक वनको हो भन्दै रोक्का गरिदिए ।’ उनका भतिज मञ्जय मल्लिक भन्छन्, ‘शिलान्यासलगत्तै ठेकेदारले चार हजार सग्लो इँटा, चार–चार ट्याक्टर टुक्रा इँटा र बालुवा तथा एक ट्याक्टर गिट्टी ल्याएका थिए ।’ ७ माघमा आफूहरूले घर भत्काएर खाली गरेको ठाउँमा थुपारेको सग्लो इँटा पुनः ठेकेदारले ट्याक्टरमा लोड गरेर फिर्ता लगेको उनले बताए ।

राज्यमन्त्री भन्छन्– विकल्प खोज्दै छौँ
आफैँले शिलान्यास गरेको घर कसरी पुनः आफ्नै निर्देशनमा रोक्का गर्नुभयो भन्ने नयाँ पत्रिकाको प्रश्नमा राज्यमन्त्री मण्डलले भने, ‘डोमहरूको घर रहेको वडाका वडाध्यक्षलाई ऐलानी जग्गाको खोजी गरेपछि शिलान्यास गरौँ भनेको थिएँ, जग्गा खोजियो भनेपछि शिलान्यास गरेँ, तर वनका कर्माचारीले जग्गा वन क्षेत्रमा पर्ने रिपोर्टिङ गरेपछि मेरै निर्देशनमा निर्माण रोक्का गर्न भनेको हुँ ।’ सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी अहिले रोक्का गरिएको वन क्षेत्रको ठाउँबाहेक अन्य ठाउँमा घर निर्माण गर्ने गरी विकल्पहरू खोज्दै छौँ,’ राज्यमन्त्री मण्डलले भने ।
नरहा– ३ का वडाध्यक्ष अनिसुल मियाँले डोमको घर निर्माणका लागि राज्यमन्त्रीले शिलान्यास गरेसँगै वन क्षेत्रको जग्गा हो भन्दै वनले रोक्का गरिएपछि आफूले सिराहा नापी कार्यालयमा जग्गाको नक्साका लागि निवेदन दिएको बताए । ‘डोम बस्तीको जग्गाको नक्सा, श्रेस्ता ल्याएर फिल्डमा हेरेपछि उपयुक्त ठाउँ पहिचान गरी घर निर्माण गर्न सिफारिस गर्छु,’ उनले भने ।

बनेन घर, ऋणको भारी
निर्माण समितिका संयोजकसमेत रहेका स्थानीय ३९ वर्षीय प्रमोद मल्लिकले निर्माण मजदुरसहित उधारोमा इँटा, रड, सिमेन्ट ल्याएर डिपिसीसम्म गरेको कामको करिब पौने पाँच लाख ऋणको ताकेता हुन थालेकाले झन् अप्ठ्यारो परेको बताए । ‘उधारोमा ल्याएको इँटा, सिमेन्ट, छड, गिटी, बालुवा, पाँचजना डकर्मी, १०जना मजदुरले काम गरेकोसहित करिब चार लाख ६१ हजार ६ सय रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘मजदुरको पारिश्रमिकसहित सबै उधारो छ, न घर बन्यो, न रकम निकासा भएको छ ।’
नगरपालिकाको २१ कात्तिकको पत्रअनुसार सुखीपुर– २ नम्बर वडास्थित ६ जनाको ठूलोपोखरीको उत्तरी डिलको जनता आवासको निर्माण कार्य रोक्का गरिदिन कार्यालयले पत्राचार गरेपछि गत असोजको अन्तिम सातादेखि थालिएको निर्माण कार्य रोकिएको छ । ‘वडा कार्यालयले बसोवासको सिफारिस दिएसँगै स्थानीय गाउँलेको सहयोगमा घर निर्माण थालिएपछि पुनः वडाकै पत्रको आधारमा रोकिँदा बिचल्ली भएको छ,’ मल्लिकले गुनासो गरे ।