आइतबार दिनभरका मुख्य खबर

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधन
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन– सधै‌ँ जालझेल र तिकडम भो
सर्वाेच्चलाई ओलीको सुझाब- याे राजनीतिक प्रश्न हो, अदालतले ‘इन्टरटेन’ गर्नुभन्दा बर्खास्त गर्नुपर्छ [भिडियाेसहित]
कमसेकम संविधान त पढ्नुस्, अनि संविधानसम्मत छ कि छैन भन्ने बहसमा उत्रिनुस् : ओली 
प्रधानमन्त्री ओलीको प्रश्न- केही समय अदालतमा जागिर खाँदैमा न्यायालयलाई धम्क्याउने ?
ओलीको दाबी- ६-६ महिनामा प्रधानमन्त्री फेरिने अस्थिरतातर्फ देश गयो, भारी मनले यो कदम चालेँ

......

ओलीलाई प्रचण्ड-नेपाल समूहको चेतावनी- संवैधानिक व्यवस्थाबारे बोल्नेलाई धम्क्याउन छोड्नुस् [भिडियाेसहित]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो । 

ओली बाठो स्याल बन्न खोजे, स्यालसँग शेरले धोका खाने दिन गए : नेपाल

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बाठो स्यालको संज्ञा  दिएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहले आइतबार बिहान जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले शेर र स्यालको कहानीजस्तै प्रधानमन्त्री ओलीले आफूलाई बाठो स्याल ठानेको बताए । नेता नेपालले विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गिरिजाप्रसाद कोइराला र आफूलाई छुट्टै प्रलोभन देखाएर निरंकुश शासन व्यवस्था टिकाउ खोजेको स्मरण गर्दै उनले भने, ‘तर, स्यालसँग शेरले धोका खाने दिन गए ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी घाइते 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् । प्रहरीको लाठीबाट स्ववियु सदस्य रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छन् । स्ववियु सभापति झक्कु शाहीले ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको निर्देशनमा प्रहरीले कुटपिट गर्नुका साथै अश्रुग्यास प्रहार गरेको बताए ।

पूर्वराजा ज्ञानेन्द्रको सन्देश- राजगद्दी त्यागेर उच्च साहस र इमान्दारी दर्शाएँ

पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेर आफूले उच्च साहस र इमान्दारी दर्शाएको बताएका छन् । उनले अहिलेको राजनीति इमान्दारी र जनहितमा आधारित नभएको गुनासो गरेका छन् । पृथ्वीजयन्तीका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा पूर्वराजाले नेपाल निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायकाे विशिष्ट योगदानलाई समेत स्मरण गरेका छन् । ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौंँ, हाल झापामा रहेका पूर्वराजाले उतैबाट जारी सन्देशमा भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ ।’ उनले जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । 

ट्राफिक नियम नमान्ने गर्नुभएको छ ? पर्नुहोला है फेला

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरी कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन गरेको छ । उपत्यकाको व्यस्त सडकहरूमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरूमा हुने तीव्रगतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले टोली परिचालन गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटिभी क्यामेराले करिब दुई सय मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिए । ‘पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्छ,’ उनले भने । 

ललितपुरमा आठ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता, सात कर्मचारीसहित १७ विरुद्ध मुद्दा दायर

ललितपुरमा खोलामा पर्ने आठ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, युरो हाउजिङ  र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २८ र २३ मा रहेको तत्कालीन हरिसिद्धि गाविस– १ तथा धापाखेल– १ मा पर्ने जग्गा हिनामिना भएको हो।  आयोगले सात कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापामगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलको संलग्नता रहेको आयोगले जनाएको छ ।

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नयाँ नक्सामा समेटिएको भूभागबारे छलफल हुने 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारत भ्रमणका क्रममा नयाँ नक्सामा छापिएको भूभाग बारेमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आइतबारकाे राष्ट्रियसभा बैठकमा उक्त कुरा जानकारी दिएका हुन् । 

अमेरिकामा कोभिड– १९ को नयाँ रेकर्ड, एकै दिन चार हजारभन्दा बढीको मृत्यु

संयुक्त राज्य अमेरिकामा कोभिड– १९ बाट मृत्यु हुनेमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन कोभिड संक्रमणबाट चार हजारभन्दा बढीको ज्यान गएको छ । प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा गत बिहीबार मात्र कम्तीमा पनि चार हजारजनाको ज्यान गएको बताइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, सिडिसीले दिएको जानकारीअनुसार बिहीबार मात्रै कम्तीमा चार हजार एक सय ८० जनाको संक्रमणबाट निधन भएको हो । त्यस दिन मात्र यो संक्रमणका दुई लाख ७९ हजार चार सय एकजना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको सिडिसीले जनाएको छ ।

पहिरोपीडित लिदीवासी भन्छन्– स्टोरमा थन्क्याएर राखिएको टेन्ट र न्यानो कपडा पाएनौँ

भोटेसेलाङको सेपिलो जमिन बाँसखर्क जहाँ पहिरोपीडित लिदीवासी ६ महिनादेखि आफ्नो थातथलो छोडेर सरकारी सहयोगको प्रतीक्षामा बसिरहेका छन् । उनीहरूका लागि स्थायी बस्तीको व्यवस्थापन त परको कुरा भयो, छिमेकी देश चीनले दिएको सहयोग पनि गाउँपालिकामा स्टोर गरेर राखिएको छ । 

लमजुङ उद्योग वाणिज्य संघको निर्वाचन : झडपपछि मतगणना स्थगित, प्रहरी निरीक्षकसहित पाँचजना घाइते

शनिबार सम्पन्न लमजुङ उद्योग वाणिज्य संघको मतगणनाकाे तयारी भइरहेका वेला दुई पक्षबीच झडप भएकाे छ ।प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीच भएकाे झडपमा प्रहरी निरीक्षकसहित पाँचजना घाइते भएका छन् । झडपपछि मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । प्रहरीका अनुसार मतगणनाको तयारी भइरहेको वेलामा मतगणनास्थल जिल्ला समन्वय समितिको गेटबाहिर व्यवसायीहरूको प्रगतिशील समूहका सुरेश श्रेष्ठ र लोकतान्त्रिक समूहका शंकर न्यौपानेबीच राति साढे १० बजे  विवाद हुँदा श्रेष्ठले न्यौपानेमाथि हेल्मेट  प्रहार गरेका थिए ।  

सुझावित समाचार