निर्माण सुरु भएको पाँच वर्षमा अत्रौली–पुट्टार सिँचाइ आयोजना सम्पन्न भएको छ । घिरिङ गाउँपालिका– १ मा रहेको उक्त सिँचाइ आयोजना निर्माण सुरु गरिएको पाँच वर्षपछि सम्पन्न भएको हो ।
आयोजना निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका स्थानीय खुसी भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख दीपा गौतमले बताइन् । उनका अनुसार आयोजना निर्माणको काम साउनमा सम्पन्न भएको हो । सिँचाइ आयोजनाका लागि मैदी खोलामा बाँध बाँधेर पानी लगिएको हो । १८ किलोमिटर मूल नहर रहेको उक्त योजनाको १३ वटा शाखा नहर रहेका छन् । चार सय ३५ हेक्टर सिञ्चित क्षेत्रफल रहेको उक्त आयोजना निर्माण पूरा भएको छ ।
सिँचाइ योजना सम्पन्न भएपछि त्यस क्षेत्रका आठ सय ६० घरधुरीका पाँच हजार एक सयजना लाभान्वित भएका छन् । अत्रौली–पुट्टार सिँचाइ आयोजना १३ करोड १७ लाख ४८ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो ।
चारपटक म्याद थप
निर्माणको जिम्मा पाएको रायमाझी कन्स्ट्रक्सन सामाखुसी काठमाडौंले समयमै सिँचाइ आयोजना सम्पन्न नगरेपछि चारपटकसम्म म्याद थप गरिएको थियो । सुरुमा १८ मंसिर ०७२ मा सम्झौता गरिएको उक्त आयोजना २० जेठ ०७५ मा सक्ने लक्ष्य थियो । तर, समयमै निर्माण पूरा नभएपछि पटक–पटक म्याद थप गरिएको हो । ३० फागुन ०७५ मा पहिलोपटक म्याद थप गरिएको उक्त योजना थपिएको समयमा पनि काम सम्पन्न नभएपछि दोस्रोपटक २९ पुस ०७६ मा थप गरिएको हो ।
दोस्रोपटक पनि निर्माण पूरा नभएपछि कार्यालयले तेस्रोपटक १८ चैत ०७६ मा म्याद थप गरेको इन्जिनियर गीताञ्जली आचार्यले बताइन् । ‘तेस्रोपटक पनि सम्पन्न नभएपछि चाौथोपटक म्याद थपिएको हो । चौथोपटक ११ असोज ०७७ मा सम्पन्न गर्ने गरी म्याद थप गरिएकोमा निर्माण व्यवसायीले समयमै निर्माण सम्पन्न गरेको छ,’ उनले भनिन् ।