महोत्तरी मनरा–सिस्वा नगरपालिका– ६ मा गत बुधबार साँझ एक १३ वर्षीया किशोरी अचानक बेपत्ता भइन् । साथीसँग कापी लिन भन्दै घरबाट निस्केकी उनी नफर्किएपछि परिवारले खोजी गर्न थाल्यो । साथीको घर, छरछिमेक सबैतिर खोज्दा पनि उनी फेला परिनन् । खोज्दै जाँदा उनको एउटा चप्पल सडकछेउमा भेटियो । अर्को चप्पल नजिकै रहेको घरछेउमा फेला पऱ्याे । प्रहरीसँगै उनको परिवार र छिमेकी त्यही घरभित्र पसे । घरको शौचालयमा सुस्त अस्पष्ट आवाज आउँदै थियो । प्रहरीले शौचालयको ढोका खोल्यो । शौचालयभित्र ती किशोरी अर्धचेत अवस्थामा थिइन् ।
उनको मुख र हातखुट्टा बाँधिएको थियो । प्रहरीले उनको उद्धार गऱ्याे । किशोरी फेला परेको घर विनोद गामीको हो, जो मनरा–सिस्वा नगरपालिका उपप्रमुख रमिता प्रधानका श्रीमान् हुन् । अपहरणमुक्त भएपछि किशोरीले प्रहरीलाई दिएको बयानअनुसार घरधनी विनोद, उनका छिमेकीद्वय गिनादेवी बैठा र परीक्षण साहविरुद्ध किशोरीको परिवारको किटानी जाहेरी लिएर अनुसन्धान अगाडि बढाइएको छ । उनीहरूलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । तीनैजना फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताए ।
किशोरी भेटिएको घरका धनी विनोदले भने आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् । आफ्नो चरित्र हत्या गर्न र राजनीति समाप्त पार्न सुनियोजित तरिकाले आफूमाथि आरोप लगाइएको उनको दाबी छ । घटनाका वेला आफू त्यहाँ नभएको दाबी पनि उनले गरे । ‘पीडित भनिएकाहरूले आफैँ सबै योजना रचेर मलाई फसाउन खोजेका हुन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘अरू आरोपितहरू कता छन् मलाई थाहा छैन । म सबैको सम्पर्कमा छु ।’
अपहरित किशोरी भन्छिन्– मैले नयाँ जीवन पाएँ
मैले नयाँ जीवन पाएँ । म कक्षा ६ अध्ययनरत छु । हाम्रो परीक्षा चलिरहेकाले त्यसकै तयारीका लागि साथीको घरबाट नोटकपी लिएर फर्किँदै गर्दा गिनादेवीले आफ्नै घरको गेटअगाडि मलाई समातेर मुख थुनिन् । र, मलाई विनोद गामीको घरभित्र लगियो । गिनादेवीबाट छुट्ने प्रयास गर्दा मेरो एउटा चप्पल गेटबाहिर छुट्यो । भित्र विनोद गामी र परीक्षण साह दुवै थिए । गामीले हातमा पन्जा लगाएका थिए । परीक्षणले ढोकामा पहरा दिए, गिना तथा विनोदले मेरो हातखुट्टा बाँधेर शौचालयमा थुने । मेरो चप्पल बाहिर नछुटेको भए मलाई यिनीहरूले मार्ने थिए । उनीहरूले मेरो नाम लिँदै ‘अहिले काम पूरा भयो, यसलाई मौका छोपेर जनकपुर लगी मार्नुपर्छ’ भन्दै थिए । मेरो पनि गुलाबसा खातुन र निर्मला पन्तजस्तै हत्या हुन्छ भनेर डराएकी थिएँ । सायद मेरो आयु अझै बाँकी भएकाले बाँचेँ । घरबाहिर निस्किन डर लागेको छ । परीक्षा दिन जान पनि सकेकी छैन ।
किशोरीकी आमा भन्छिन्– मेरो परिवार नै असुरक्षित भयो
मेरा श्रीमान् तीन वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा सासू–ससुरा र तीन छोराछोरी छन् । छिमेकीहरूसँग समय–समयमा झगडा पर्ने भएकाले तीन सन्तानमध्ये छोरालाई माइतमा पठाएकी छु । आफूसँग दुई छोरी छन् । फेरि मेरो परिवारमाथि यस्तो घटना हुँदैन भन्न सकिँदैन । विनोद गामीले विगतमा पटक–पटक मेरो फोन नम्बर माग्थे । छिमेकीसँग विभिन्न विषयमा झगडा हुँदा विनोद र उनका समर्थकले मलाई आरोप लगाउने र चरित्र हत्या गर्ने प्रयास गर्थे ।
दोषी उम्किनुभएन : ओरेक नेपाल
ओरेक नेपालकी जिल्ला कार्यक्रम अधिकृत लीला दियालीले घटना छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । किशोरी र उनको परिवारलाई भेट्न गएको अधिकारकर्मी दियालीको टोलीले घटनाबारे पीडित पक्ष र स्थानीय बासिन्दासँग जानकारी लिएको छ । ‘यस्ता घटना जघन्य अपराध हुन्, बालिकाको जीवनसँग खेलबाड भएको देखिन्छ,’ उनले भनिन्, ‘दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’ घटनापछि दोषीलाई पक्राउ गर्न र कडाभन्दा कडा कारबाही माग गर्दै स्थानीयले बिहीबार स्थानीय सरपल्लो बजारमा प्रदर्शन गरेका थिए ।