लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा वर्ष २०२० का उत्कृष्ट खेलाडी बनेका छन् । 

करिअरमै पहिलोपटक फिफा वर्ष खेलाडीको मनोनयनमा परेका लेवान्डोस्कीले उपाधि हात पारेका हुन् । यसपटक फिफाले यस उपाधिलाई द बेस्ट नाम दिइएको थियो ।

लेवान्डोस्कीले उपाधि जित्दा दाबेदार लियोनल मेसी तथा क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका थिए । गत वर्षको विजेता मेसीले उपाधि रक्षा गर्न सकेनन् । 

४७ खेलमा ५५ गोल
२०१९–२० को सिजनमा लेवान्डोस्की उत्कृष्ट फर्ममा देखिए । जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध लेवान्डोस्कीले गत सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । 

यसक्रममा उनले १० पटक साथीहरूलाई गोल गर्न असिस्ट गरे । उनकै प्रेरणादायी प्रदर्शनकै सहयोगमा बायर्नले गत बर्ष ट्रेबल उपाधि जितेको थियो । 

गत सिजनमा बायर्नले युरोपियन च्याम्पियन्स लिग, वुन्डेस लिगा तथा जर्मन कप ट्रफी उचाल्दा लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका थिए । 

उनका प्रत्याशीद्वय रोनाल्डोले ४६ खेलमा ३७ गोल गरे । युभेन्टसमा आबद्ध रोनाल्डोले सातपटक असिस्ट गरे । मेसीले गत सिजनमा ४४ खेलमा ३१ गोल गर्नुका साथ २७ असिस्ट गरे । लेवान्डोस्कीले मेसीले भन्दा ७७ र रोनाल्डोले भन्दा ४७ प्रतिशस बढी गोल गरेका थिए । 

उपाधि जित्दा पत्याएनन्
भर्चुअल अवार्ड कार्यक्रममा पहिलो तीन सर्ट लिस्टमा लेवान्डोस्की, मेसी तथा रोनाल्डो नै रहे । यी तीनमध्ये एकले जित्दा रेकर्ड बन्ने थियो ।  

रोनाल्डोले जित्दा मेसीकै ६ पटकको बराबरी गर्ने थियो । मेसीले सर्वाधिक सातपटक उपाधि जितेको रेकर्ड रच्ने थिए ।

लेवान्डोस्की भने पहिलोपटक विजेता बन्ने थिए । दिग्गज खेलाडीबीच आफू उत्कृष्ट हुँदा लेवान्डोस्कीले सुरुमा पत्याएनन् ।

उपाधि चुम्दै उनी भन्छन्, ‘यो स्टेजमा मेसी तथा रोनाल्डोजस्ता खेलाडीबीच म उत्कृष्ट बन्छु भन्ने कल्पना पनि थिएन, वास्तवमै यो समय मैले कप्पना गरेकोभन्दा टाढा थियो ।’

लगातार सात वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलमा सक्रियताका साथ खेलिरहेका लेवान्डोस्कीले फिफा वर्ष खेलाडी हुन कडा मिहिनेत गरेको बताएका छन् । खेलाडी कहाँबाट आएको र कुन क्लबमा कस्तो प्रदर्शन गरेको भन्ने अर्थ नरहने उनले बताए । वर्षभरिको प्रदर्शन र योगदानकै कारण नै उपाधिको दाबेदार हुने उनको भनाइ थियो । 

क्लोपद्वारा उपाधि रक्षा 
जर्मन नागरिक तथा इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले आफ्नो उपाधि रक्षा गरेका छन् ।

क्लोपको अगुवाइमै लिभरपुलले १९९० पछि पहिलोपटक इंग्लिस प्रिमियरसिप उपाधि जितेको थियो ।

क्लोपले यो उपाधि जित्दा आफैँ अच्चमित भए ।

उनले भने, ‘म आफू नै अचम्मित छु ।’ क्लोपले रियल म्याड्रिडका जिनेदिन जिदान, मार्सेलो विएलसा, डाइट फिलक र जुलेन लोपेटेगुइलाई निराश पारे । 

मानुएल उत्कृष्ट  गोलरक्षक
बायर्नका गोलरक्षक मानुएल नुएर फिफा वर्ष गोलरक्षक बनेका छन् । बुन्डेस लिगा तथा च्याम्पियन्स लिग उपाधि जित्दा नुएरको प्रदर्शन बिर्सन मिल्दैन । उनले गत सिजनमा अभुतपूर्वक प्रदर्शन गरेका थिए । 

गत सिजनमा उनले ३३ खेलमा ३१ गोल मात्र व्यहोरेका थिए । यसैगरी उत्कृष्ट गोलको अवार्ड टोटनह्यामका दक्षिण कोरियन खेलाडी सोन मिनले जितेका छन् । उनले पुस्कार अवार्डका रूपमा उत्कृष्ट गोलको उपाधि उचालेका हुन् ।

यसैगरी महिलातर्फ इंग्ल्यान्डकी लुसी ब्राउन्ज वर्ष महिला खेलाडी बनिन् । महिलातर्फको प्रशिक्षक अवार्ड नेदरल्यान्ड्सकी सारिना विगमनले जितिन् । महिलातर्फको उत्कृष्ट गोलरक्षक अवार्ड लिइनका साराले हात पारिन । 

मेसी र रोनाल्डोले कसलाई मत दिए
फिफा वर्ष खेलाडी अवार्डका लागि राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक तथा खेलकुद पत्रकारले मत दिने गर्छन् । 

यसमा पहिलो पाँच अंक, दोस्रो तीन अंक तथा तेस्रोलाई एक अंक प्राप्त हुन्छ । युभेन्ट्सका रोनाल्डोले पाँच अंकका लागि लेवान्डोस्की, मेसी तथा केलियन एम्बाप्पेलाई क्रमशः मत दिए । 

यसैगरी बार्सिलोनाका कप्तान मेसीले रोनाल्डोलाई भोटिङ गरेनन्। उनले पहिलो स्थानमा पिएसजीका नेमार जुनियर, दोस्राेमा एम्बाप्पे तथा तेस्रो नम्बरमा लेवान्डोस्कीलाई मत दिएको फिफाले जनाएकोछ ।

नेपालबाट कसले पाए ?
फिफाको सदस्य नेपालबाट यसपटक कप्तान तथा प्रशिक्षकले द वेस्ट अवार्डमा मतदान गरेका छन् । 

यसपटक नेपालबाट खेलकुद पत्रकार समावेश भएन । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान भरत खवासले लिभरपुलका मोहमद सलाहलाई पाँच अंकका लागि मत दिए ।

उनले दोस्रो स्थानमा मेसी तथा तेस्रो स्थानमा रोनाल्डोलाई मत खसालेका छन् । यसैगरी बालगोपाल महर्जनले पहिलो स्थानमा सलाह, दोस्राे स्थानमा लेवान्डोस्की तथा तेस्रो स्थानमा म्यानचेस्टर सिटीका केभिन डे ब्रुयनेलाई मत खसाले ।

सुझावित समाचार