प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय नमान्ने जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा यसबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
अहिले बैठक देउवानिवासमा जारी नै छ । बैठकको बीचमा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता शर्माले कांग्रेसले यस्तो नीति लिने जानकारी दिएका हुन् ।
साथै शर्माले सरकारले ल्याएको अध्यादेशले संवैधानिक परिषद्को गरिमालाई गिराउने गरी आएको पनि बताए । यो कार्य अलोकतान्त्रिक सर्वसत्तावादी रहेको उनको भनाइ छ ।
उनले यो अध्यादेश तुरुन्त फिर्ता गर्न माग पनि गरे । साथै उनले संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन पनि कांग्रेसले माग गरेको बताए ।
उनले कांग्रेसले विशेष अधिवेशनको माग नगरी हिउँदे अधिवेशन बोलाउन मात्र माग गरेको बताए ।
विशेष अधिवेशन बोलाएमा दुई–तीन दिन विशेष विषयमा छलफल गरेपछि ६ महिनासम्म संसद् बन्द गर्न सरकारलाई सुविधा प्राप्त हुने भएकाले हिउँदे अधिवेशन मात्र माग गरेको बताए ।