सकियो सर्वदलीय बैठक : राजनीतिक प्रणाली उल्टाउन खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्रीनिवास वालुवाटारमा मंगलबार तीन घन्टा चलेको बैठकमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा र अहिले देखा परेको सडक प्रदर्शनका बारेमा छलफल केन्द्रित भएको थियो । बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखेका थिए । त्यसपछि अन्य दलका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
सर्वदलीय बैठकमा हिन्दूराष्ट्र बनाउनेदेखि राजासहितको प्रजातन्त्रसम्मका विषयमा कुरा उठेको छ । बैठकमा कांग्रेसका नेताहरुले सरकारले कोरोना नियन्त्रणमा गम्भीर ढंगबाट काम गर्न नसकेकाले त्यसमा सक्रियतापूर्वक अग्रसर हुने विषय उठाएको कांग्रेसका नेता डा. प्रकाशसरण महतले जानकारी दिए ।
त्यसैगरी, आफूहरूले भ्रष्टाचार नियन्त्रणका विषयमा पनि कुरा उठाएको उनले बताए । साथै सरकार दमनकारी नीति लिएर अघि बढेकोबारे ध्यानाकर्षण गराएको उनले जानकारी दिए । साथै, बैठकमा कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने विषय पनि उठेको छ ।
त्यस्तै, राप्रपाका नेताहरूले भने देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने प्रस्ताव गरेका थिए । बैठकमा सहभागी दीपक बोहोराका अनुसार राप्रपाका नेताहरूले वर्तमान संविधानप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै यही संविधानमा राजतन्त्रसहित हिन्दूराष्ट्र बनाउन सकिने विषय अघि सारेका थिए । साथै, उनीहरूले बैठकमा अहिले हिन्दुत्व र राजसंस्थाको पुनर्स्थापनालाई लिएर सडकमा भएको प्रदर्शनप्रति आफूहरूको नैतिक समर्थन रहेको बताएका थिए ।
आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने कोरोना संक्रमित सबैभन्दा बढी बागमती प्रदेशमा
नेपालमा कोरोना संक्रमणबाट चार हजार एक सय सातजना गम्भीर अवस्थामा पुगेको पाइएको छ । तीमध्ये नौ सय ८९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गराउनु परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका बिरामी हुन्छन् भने पाँच प्रतिशत गम्भीर अवस्थामा पुग्छन् । आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बिरामी पनि तिनै पाँच प्रतिशत हुन् ।
युरोप र अमेरिकाको तुलनामा नेपालमा सघन उपचार आवश्यक भएका संक्रमितको संख्या कम भएको सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् । तर, नेपालका अस्पतालअनुसार आइसियूमा राख्ने मापदण्ड फरक भएकाले यकिन संख्या भन्न नसकिने चिकित्सकहरूको भनाइ छ । ‘युरोपको तुलनामा नेपालमा आइसियू र भेन्टिलेटरमा पुगेका संक्रमित संख्या कम हो । घरमा बसेका र अस्पतालमा पनि आइसियू चाहिने कतिपय छुटेका हुन सक्छन्,’ डा. बाँस्तोला भन्छन्, ‘त्यसैले नेपालमा यति संख्यामा आइसियू र भेन्टिलेटरमा पुगे भनेर दाबी गर्न सक्ने अवस्था छैन ।’
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढी देखियो
संसारकै उच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढी देखिएको छ । २०७२ काे भूकम्पपछि कहिले सगरमाथाकाे उचाइ बढेकाे त कहिले घटेकाे भनी केही सञ्चारमाध्यममा समाचार आउने गरेका थिए । नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाकाे उचाइ घाेषणा गरेसँगै विश्वभर सगरमाथाकाे नयाँ आधिकारिक उचाइ स्पष्ट भएकाे छ । नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको सार्वजनिक गरिएको हो ।
सगरमाथाको नयाँ उचाई (८८४८.८६मिटर ) घोषणा कार्यक्रममा नेपाल र चीनका राष्ट्रपतिले एकअर्कालाई पठाएको बधाई सन्देशमा विगतका भ्रमणहरूको चर्चा गर्दै सम्बन्ध सगरमाथाजस्तै उच्च हुने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्ला उच्चस्तरीय भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गरेकी छिन् भने चीनका राष्ट्रपति सी जिनपिङ नेपालसँग राजनीतिक विश्वास बढेको बताएका छन् ।
मंगलबार नापी विभागमा आयोजित उचाइ घोषणा कार्यक्रममा सुरुमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई पठाएको सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुनाएका थिए । सन्देशमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको नेपाल भ्रमण र आफ्नो चीन भ्रमणले दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गरेकी छिन् ।
राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा चिनियाँ समकक्षी सीले पछिल्ला दिनमा नेपाल र चीनबीच राजनीतिक विश्वास बढेको बताएका छन् ।‘नेपालको एकता, स्थिरता र विकासका लागि चीन सहकार्य गर्न तयार छ,’ चिनियाँ राष्ट्रपतिले भनेका छन् । सगरमाथा नेपाल र चीनबीच अनन्य मित्रताको प्रतिक भएको बताएका छन् । उनले हिमाली क्षेत्रमा थप अध्ययन अनुसन्धान गर्न र वातावरण संरक्षणका लागि नेपालसँग सहकार्य गर्ने गत वर्षको सहमति पनि स्मरण गरेका छन् ।
कोरोना मिटर : २३ को निधन, १६२१ भए निको
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा २३ जनाको निधन भएको छ । योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १६ सय ३७ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घन्टामा १३ सय ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही अवधिमा १६ सय २१ जनाले कोरोना जितेका छन् । कुल २ लाख ४३ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये २ लाख २९ हजार ५४ जनामा संक्रमण निको भएको छ ।
मोरङमा शिक्षक हत्याको जिम्मेवारी विप्लव नेकपाले लियो, सुराकी गरेको आरोप
मोरङको मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी विप्लव नेकपाले लिएको छ । विप्लव नेकपा मेची कोसी ब्युरोले विज्ञप्ति जारी गरेर हत्याको जिम्मेवारी लिएको हो । विगतमा जस्तै सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको विभत्स हत्या
रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । कालिका गाउँपालिका १ फैलिगाङ कि ६ वर्षीया सुमिना तामाङको विभत्स हत्या भएको हो । आइतबार बिहान ९ बजे बालिका ग्राङ प्राथमिक विद्यालय गएको र विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजतलासका क्रममा एकजना महिलाले लगेको हल्ला गाउँमा चलेपछि बालिकाको परिवारले नजिकैको अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी गरेका थिए ।
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई घरमा नजरबन्द गरेको आम आदमी पार्टीको आरोप
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गृह मन्त्रालयको निर्देशनमा केन्द्र सरकारले घरमै नजरबन्द गरेको आम आदमी पार्टीले आरोप लगाएको छ । दिल्ली प्रवेश गर्ने नाकामा आन्दोलनरत किसानहरूलाई सर्मथन गर्न सोमबार केजरीवाल आन्दोलनस्थलमा पुगेका थिए । उनले आन्दोलनरत किसानहरूको अवस्थाबारे पनि सोधपुछ गरेका थिए । आज पनि पुनः आन्दोलनरत स्थलमा जान सक्ने आशंकामा केजरीवाललाई नजरबन्दमा राखिएको हुन सक्ने आम आदमी पार्टीको भनाइ छ ।
फाइजर बायोन्टेक भ्याक्सिनले कसरी काम गर्छ ?
जर्मन औषधि उत्पादक कम्पनी बायोन्टेकले अमेरिकी कम्पनी फाइजरको साझेदारीमा निर्माण गरेको बिएनटी १६२ बि २ नामक कोरोना भाइरसविरुद्धको भ्याक्सिन कोरोना नियन्त्रणमा ९५ प्रतिशत प्रभावकारी देखिएको जनाइएको छ । सामान्यतया, सार्स कोभिड भाइरस प्रोटिनले भरिएको हुन्छ जुन मानव कोषिकामा प्रवेश गर्न सहयोगी हुन्छ । यी स्पाइक प्रोटिनले सम्भावित खोप र उपचारका लागि लक्ष्य निर्धारण गर्छन् ।
कोरोनाविरुद्धको पहिलो भ्याक्सिन लगाउने बेलायतकी वृद्धा भन्छिन्– आफूलाई विशेष ठानेकी छु
यहीक्रममा बेलायतको उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिलालाई ट्रायलबाहेकको पहिलो खोप दिइएको छ । उनी विश्वमै कोरोना भाइरसविरुद्धको खोप औपचारिक रूपमा लगाउने पहिलो महिला भएको बेलायत सरकारको दाबी छ । युनिभर्सिटी हस्पिटलमा खोप लगाउने क्रममा मार्गरेट किनाले भनिन्,‘पहिलो खोप लगाउन पाएकोमा आफूलाई विशेष ठानेकी छु ।’