प्रधानमन्त्रीले ‘रअ’का प्रमुखसँग भेट्नु राष्ट्रिय स्वाभिमान कमजोर पार्ने कार्य : नारायणकाजी श्रेष्ठ

आइतबार, ९ कार्तिक, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट्नुले देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको बताएका छन् । श्रेष्ठ पूर्वपरराष्ट्रमन्त्रीसमेत हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले यसप्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभाैमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने जनाएका हुन् ।

उनले विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीत भएकोसमेत जनाएका छन् । 

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकाे यस भेटबारे पार्टीमा पूर्वजानकारी नभएको, छलफल नगरेको र पार्टीलाई कुनै जानकारी पनि नभएको जनाएका छन् । 

उनले प्रधानमन्त्रीले कुनै विदेशी गुप्तचर संस्थाका प्रमुखसँग कमकक्षीझैँ भेटेको नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको घटना पहिलो भएको उल्लेखसमेत गरेका छन् । प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचीअनुसार विदेशी गुप्तर संस्थाका अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत भेटेको पनि जनाएका छन् । 

प्रवक्ताले श्रेष्ठले लेखेका छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरूप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।’

उनले थप लेखेका छन्, ‘विदेशी सरकार प्रमुखले औपचारिक रूपमा आफ्नो विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युतर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर, त्यो पनि देखिएन, त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीतको यस्तो भेट किन ?’

केही दिन पहिले विशेष विमानद्वारा नेपाल आएका भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गाेयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका थिए । 

त्यस भेटलाई लिएर सत्तारुढ दल नेकपाभित्रकै वरिष्ठ नेताहरूदेखि कूटनीतिक वृत्त तथा नागरिक समाजबाट विरोध भइरहेको छ । यही सन्दर्भमा नेकपाकै प्रवक्ता श्रेष्ठले पनि विरोधको विचार सार्वजनिक गरेका हुन् । 

सुझावित समाचार