गुठीचौर गाउँपालिका- १ का गाउँ कार्यपालिका सदस्य जनक थकालीले व्यक्तिगत रूपमा नौ सय घरपरिवारलाई राहत वितरण गरेका छन् । उनले प्रत्येक घरपरिवारलाई २० किलो चामल र एक प्याकेट तेल वितरण गरेका हुन् ।
थकालीले २३ लाख रुपैयाँबराबरको राहत वितरण गरेकाे बताए । राहत सामग्री बुझ्न आएका स्थानीयले थकालीलाई खाँदा र अबिर लगाएर सम्मानसमेत गरेका थिए । राहत सामग्री बुझ्दै स्थानीयले थकालीलाई भने, ‘संकटमा गुन लगाउनुभयो, सधैँभरि सम्झनेछौँ ।’
दसैँको मुखमा राहत पाएर खुसी भएका स्थानीयवासीले भने, ‘अहिलेसम्म स्थानीय सरकारले यति ठूलो संख्यामा राहत दिन सकेको थिएन ।’
जनक थकाली जडीबुटी व्यवसायी हुन् । उनी यार्सागुम्बा र सेतक चिनी संकलन तथा बिक्री–वितरण गर्छन् ।
राहत वितरण गर्दै थकालीले भने, ‘यो राहत मैले रुपैयाँ धेरै भएर बाँडेको होइन । मलाई तपाईंहरूले जडीबुटी दिनुभयो । मुनाफा आएको रकमले हजुरहरूलाई संकटको वेला सानो साथ मात्र दिइएको हुँ । राहतमा कुनै स्वार्थ छैन ।’
कोरोना भाइरसका कारण स्थानीयले जडीबुटी संकलन गर्न सकेका छैनन् । यहाँको आम्दानीको स्रोत नै जडीबुटी हो । जडीबुटी यो वर्ष संकलन हुन सकेन । संकलित जडीबुटीसमेत निश्चित गन्तव्यमा पुग्न सकेको छैन ।
उनले भने, ‘अब हामी कृषि व्यवसायमा सहभागी बनौँ । तपाईंहरूले उत्पादन गरेको हरेक कृषि वस्तुको व्यवस्थापनमा म साथ दिन्छु । कृषि वस्तु बजारीकरणमा कुनै अभाव हुन दिनेछैन ।’