- भारत भ्रमण तयारीबारे छलफल, खेलकुद सहकार्यमा प्रधानमन्त्रीको चासो
काठमाडाैं- भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह, सत्तारूढ रास्वपा सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति गगन थापासँग बेग्लाबेग्लै भेट गरेका छन् ।
भेटमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको छ । प्रधानमन्त्री शाह ७ देखि ९ मंसिरमा भारतको औपचारिक भ्रमणमा जाने तयारी छ । प्रधानमन्त्रीको भ्रमण मिति तथा कार्यतालिका नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकैसाथ सार्वजनिक गर्नेछन् । हालसम्म दुवै देशले सार्वजनिक गरेका छैनन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमणको विस्तृत कार्यतालिकामा छलफल गरिरहेका छन् ।
शाहले भारतीय विदेशसचिव मिश्रीलाई विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराएको र उद्धार टोली खटाएकोमा आभार व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी आएकै दिन १० भदौमा प्रधानमन्त्री शाहलाई गरेको टेलिफोन वार्ताको पनि प्रधानमन्त्री शाहले स्मरण गरेका थिए । नेपालले विपत्को सामना गरिरहेका वेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाएको भन्दै शाहले भारतीय समकक्षी मोदीप्रति आभार जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘प्रधानमन्त्रीज्यूले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राख्नुभएको थियो,’ प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ । मिश्रीले प्रधानमन्त्री शाहलाई समकक्षी मोदीको सन्देश सुनाएका थिए । मोदीको सन्देशमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारेको उल्लेख थियो । मिश्रीले शाहको भारत भ्रमण सफल हुने गरी आफूहरूले तयारी गरिरहेको बताएका थिए । उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको पनि प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।
मिश्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको पनि जानकारी गराएका थिए । अयोध्या–जनकपुर रेलमार्गमा रेल परीक्षण सञ्चालनसमेत भएको मिश्रीले जानकारी दिएका थिए । प्रधानमन्त्री शाहपछि मिश्रीले कांग्रेस सभापति थापासँग एक होटेलमा भेटवार्ता गरेका थिए ।
सभापति लामिछानेसँग निवासमा भेटवार्ता
भारतीय विदेशसचिव मिश्रीले रास्वपा सभापति रवि लामिछानेसँग उनकै निवास बुढानिलकण्ठमा शिष्टाचार भेट गरेका छन् । लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको स्मरण गर्दै ‘दुई मुलुकबिचमा हुनलागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना’ दिएका थिए । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सभापति लामिछानेले विशेषतः विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको विषय उल्लेख गरेका थिए । ‘भेटवार्तामा सभापति लामिछाने र विदेशसचिव मिश्रीबिच नेपाल र भारतबिचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो,’ खरेलले जारी गरेको विज्ञप्तिमा छ ।