सन् १९७६ : माओको निधनलगत्तै सांस्कृतिक क्रान्ति सञ्चालनमा प्रमुख भूमिका खेलिरहेका ‘चारको समूह (ग्याङ अफ फोर)’का नेता पक्राउ परे । पक्राउ पर्नेमा माओकी श्रीमती चियाङ चिङलगायत झाङ चुन्छियाओ, याओ वेनयुआन र वाङ होङवेन थिए । चार नेता पक्राउ परेपछि सांस्कृतिक क्रान्ति मत्थर भएको थियो ।
सन् १७९५ : पेरिस सहरको विद्रोह दबाएको कदरस्वरूप फ्रान्सको संसद्ले जनरल नेपोलियन बोनापार्टलाई सेनाको कमान्डको दोस्रो स्थानमा प्रमोसन गर्यो ।
सन् १८८४ : सन् १९४८ मा संयुक्त राष्ट्रसंघले पारित गरेको ‘विश्वव्यापी मानव–अधिकारको घोषणापत्र’ तयार पार्न महत्वपूर्ण भूमिका निभाएकी एलिनोर रुजवेल्टको आजकै दिन जन्म भएको थियो ।
सन् १८९९ : दक्षिण अफ्रिकामा पहिले पुगेर त्यहाँको स्थानीयसँग तुलनात्मक बढी घुलमिल भइसकेका बोअर (डच मूलका बासिन्दा)ले नवआगन्तुक बेलायतीविरुद्ध युद्धको घोषणा गरे । यसलाई ‘बोअरको युद्ध’को नामले चिनिन्छ ।
सन् १९४५ : चीनका राष्ट्रवादी पार्टीका नेता तथा राष्ट्रपति चियाङ काइ–सेक र कम्युनिस्ट नेता माओ त्से तुङबिच संयुक्त सरकार बनाउनेसम्म पुग्ने गरी भइरहेको वार्ता भंग भएसँगै दुई नेताको नेतृत्वका सेनाबिच गृहयुद्ध सुरु भयो । चार वर्ष चलेको गृहयुद्धमा अन्ततः कम्युनिस्टहरू विजयी भए ।
सन् १९८४ : ‘च्यालेन्जर’ नामक अन्तरिक्ष सटलमा उडेकी अन्तरिक्षयात्री क्याथरिन डी सुलिभ्यान अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी महिला बनिन् ।
सन् १९८७ : भारतले श्रीलंका सरकारको आग्रहमा त्यहाँ चलिरहेको गृहयुद्धलाई मत्थर पार्ने मिसनसहित शान्ति फौज पठायो । सो फौज सक्रिय भएपछि हजारौँको ज्यान गयो ।
सन् २००१ : क्यारिबियन मुलुक ट्रिनिडाडमा जन्मिएका ब्रिटिस लेखक भिएस नैपाललाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो ।