काठमाडौं । एनआइसी एसिया क्यापिटलले पोखराको त्रिवेणी इन्टरनेसनल कलेजमा मुद्रा बजार तथा पुँजीबजार साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’को अवसरमा तालचोकस्थित उक्त कलेजमा शुक्रबार मुद्रा बजार तथा पुँजीबजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले ‘इन्भेस्ट इन योर फ्युचर, प्रोटेक्ट इट टुडे’ नारासहित विद्यार्थी जीवनकालमा समेत पैसा के–कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको रकम कहाँ कसरी सरल रूपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराए।
साथै उनले धितोपत्रको प्राथमिक तथा दोस्राे बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, एसआइपी आदिमा लगानी गर्ने प्रक्रियासहित दोस्राे बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्नेसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी गराए।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थी तथा प्राध्यापकहरूको सहभागितामा मुद्रा बजार उपकरण तथा पुँजीबजारको पछिल्लो अवस्था र लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरूको सम्बन्धमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो।