नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ। हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो सुरु भएको सभापति गगन थापाले जानकारी दिए।
‘हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो,’ सभापति थापाले भने, ‘यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ।’
सभापति थापाले यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन आग्रह गरेका छन् ।
यसपटक कुनै पनि प्यानल वा गुट छैन : गगन थापा
‘विभिन्न उम्मेदवारहरूको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ, यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले भने, ‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला।’
‘सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्यांकन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई विश्वास छ, तपाईंहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउनेछ।’
मतदानलगत्तै मतगणना, तीन दिनभित्रै परिणाम सार्वजनिक गर्ने दाबी

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाउने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ ।
दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताए । ‘आवश्यकताअनुसार १३ वटासम्म मतगणना स्थल बनाएर भए पनि दुई–तीन दिनमै मतगणना सम्पन्न गर्ने तयारीमा छौँ,’ खड्काले भने ।








