मोदी खोला र किम्रोंग खोलामा पटक–पटक आएको बाढीले सडक कटान गर्दा बन्द रहेको बिरेठाँटी हुँदै पर्यटकीय गाउँ घान्द्रुक जाने सडक ४२ दिनपछि खुलेको छ।
बाढीका कारण कटान भएका स्थानमा ग्याभिन जाली भरेर सडक मर्मत गरेसँगै ४२ दिनपछि बाटो खुलेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। बाढीका कारण गाउँपालिकाको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक खण्डका विभिन्न स्थानमा पुर्याएको क्षतिका कारण वडा नम्बर ८, ९, १० र ११ सडक सञ्जालबाट पूर्ण रूपमा सम्पर्कविच्छेद भएका थिए।
किम्रोंग खोलामा २८ असारमा आएको बाढीले सडक कटान भएपछि अन्नपूर्ण–८ र १० को सिमानामा पर्ने सेउलीबजारमा मोदी खोलाले सडक कटान गरेपछि बिरेठाँटी हुँदै घान्द्रुक जाने पक्की सडक पूर्ण रूपमा बन्द भएको थियो। बाढीका कारण सेउलीबजारमा रहेको एक रेस्टुरेन्ट र एक घर बगाएको थियो भने एक रेस्टुरेन्टमा क्षति पुगेको थियो। किम्रोंग खोलामा आएको बाढीले किम्रोंगस्थित झोलुंगे पुलसमेत बगाएको छ।
बाढीका कारण बन्द रहेको सेउलीबजारको सडक खोलाको कुनामा कच्ची ट्र्याक बनाएर अस्थायी रूपमा २९ गतेदेखि खुलाइएको थियो। त्यसपछि सडकका अन्य भागमा कतै पहिरो र कतै कटानका कारण सडक समय समयमा अवरुद्ध हुँदै आएको थियो।
त्यसपछि २७ साउनमा मोदी खोलामा आएको बाढीले बिरेठाँटीमा करिब ५० मिटर, चिम्रुङमा ५०–६० मिटर, स्याउलीबजारमा ६० मिटर, सिवाई खोलामा ५५ मिटर र कालाभिरमा ३० मिटर सडक कटान गरेको थियो। अविरल वर्षाका कारण सडक कटान हुने, पहिरो जाने भएपछि गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपत् व्यवस्थापन समिति, हाइड्रोपावर कम्पनीहरू तथा अन्य सम्बन्धित निकाय र निर्माण व्यवसायी–प्राविधिक टोली परिचालन गरी पुनर्निर्माण, पहिरो तथा माटो हटाउने, सडक सम्याउने र यातायात सञ्चालन योग्य बनाउने गरी कार्य तीव्र रूपमा काम अघि बढाइएको थियो।
२७ गतेको बाढीले सबैभन्दा धेरै बिरेठाँटीमा असर गरेको थियो। सोही स्थानस्थित मोदी खोलाको किनारमा ८ भदौमा धर्ती पूजा गरेर जग हाल्ने र ग्याबिन भर्ने काम सुरु गरिएको थियो। सडक मर्मतका लागि १० भदौदेखि नेपाली सेनाका ४५ जना, अन्य २५ जना मजदुरसँगै स्थानीय, विभिन्न दलका कार्यकर्ताहरूसँगै स्वयंसेवकहरूसमेत खटिएका थिए।
प्रारम्भिक पुनर्निर्माण तथा मर्मतको काम सोमबार सम्पन्न भएसँगै नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक मंगलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। वर्षायाम अझै बाँकी रहेकाले सडकखण्डका विभिन्न स्थानमा वर्षा तथा पहिरोका कारण पुनः अवरोध आउन सक्ने सम्भावना रहेकाले सवारीचालक तथा यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न तथा सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अध्यक्ष केसीले सरोकारवाला सबैमा अनुरोध गरेका छन्।
क्षति पुगेको बिरेठाँटीदेखि घान्द्रुकसम्मको सडक र किम्रोंग खोलाको झोलुंगे पुलसहित आवश्यक अन्य भौतिक पुनर्निर्माणका लागि अनुमानित १० करोड रुपैयाँ लाग्ने अध्यक्ष केसीले जानकारी दिए। यसका लागि संघ र प्रदेश सरकारसँग कुरा भइरहेको उनले बताए।