मधेशवादी दलले मधेशी जनता झुक्याउन आन्दोलन घोषणा गरेको सिंहको आरोप

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

रास्वपा नेता एवं प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मधेशवादी दलले जनता झुक्याउनकै लागि आन्दोलन घोषणा गरेको आरोप लगाएका छन्। मेची–महाकाली पदयात्राबारे जानकारी दिन जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा सिंहले आफूले मधेश र देश जोड्न अभियान घोषणा गरेकै समयमा मधेशी दलले आन्दोलन घोषणा गरेर जनता झुक्याउन खोजेको आरोप लगाएका हुन्।

पहिले ठुला भनिने अन्य दलले मधेशलाई बेवास्ता गरेजस्तै मधेशवादी दलले समेत लामो समय सत्ता चलाउँदा मधेशलाई उपेक्षा गरेको उनको भनाइ छ। नेता सिंहले मधेशमा सत्ता हुँदा मधेशीलाई नै नचिनेका र मधेशका लागि केही नगरेका उनीहरूले सत्ता हातबाट जानासाथ मधेशी याद गरेको कडा प्रतिक्रिया दिए।

आफू रास्वपाको सांसद भएर रास्वपाकै सरकारको आलोचना गरिरहेको भन्ने प्रश्नको जवाफ दिँदै नेता सिंहले आफू सरकारको विरोधमा नभई जनताको पक्षमा रहेको बताए। आफूले जनताको आवाज सदनदेखि सडकसम्मै राख्दै आएको उनको भनाइ छ।

मधेशी जनताको पहिलो प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको अवसर अझै नरहेको भन्दै सिंहले यसका लागि जोसुकै सरकारको पक्ष वा विपक्षमा रहे पनि बोल्न नछोड्ने प्रस्ट पारे। मधेशवादी दलप्रति लक्षित गर्दै सिंहले पोखरी सौन्दर्यकरण, मठ मन्दिर निर्माणलगायतमा कराडौँ खर्च गर्नेले शिक्षामा के गरे ? भन्ने प्रश्न गरे।

आफ्नो यात्राबारे जानकारी दिँदै उनले दैनिक पाँच घण्टा पैदल यात्रा र सात घण्टा जनतासँग साक्षात्कार गरेर सुख–दुःख बुझ्ने र त्यसको समाधानका उपाय पहिल्याउन कोसिस गर्ने बताए। उनले मल लिन भारत गएका मधेशका एक किसान ३८ दिनसम्म जेलमा बस्नुपरेको पिडा अझै भुल्न नसकेको बताउँदै समृद्ध मधेश र आत्मनिर्भर देश बनाउन आफ्नो अभियान जारी रहने उल्लेख गरे।

सुझावित समाचार