शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम सिफारिस गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रको अध्ययन, अनुसन्धान, विज्ञता तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो।

नवीन सोचसहित स्वदेशमै रोजगारी सिर्जना गर्न जेन–जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले जेन–जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन–जी उमेर समूहका सांसदहरूसँग आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै युवापुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आग्रह गरेका हुन्। उनले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिए।

परिमार्जित विशेषतासहित ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहित ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ०८३ असोज २ गतेदेखि नयाँ विशेषतासहितको नोट प्रचलनमा ल्याएको हो।

नयाँ नोटको आकार र मूल डिजाइन भने यसअघिकै कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ।

नापजाँच सकिएको नाै वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साबिक रमदैया भवाडी गाविस वडा नं. २, ३, ४, ६, ७ र ८ अन्तर्गतका परिवारलाई लामो समयपछि लालपुर्जा वितरण गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएकाे छ ।  जग्गाको नापजाँच सम्पन्न भए पनि विभिन्न प्रक्रियागत कारणले लालपुर्जा वितरणमा ढिलाइ हुँदै आएको थियो।

जिउँदाे कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

जयपृथ्वी नगरपालिका– १०, चैनपुरस्थित पानकोट पुलबाट जिउँदाे कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पानकोट पुलको पश्चिमी किनारामा रहेको रेलिङको पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। भिडियो सार्वजनिक भएपछि पशुप्रति निर्दयी व्यवहार गरिएको भन्दै घटनाको चौतर्फी चासो बढेको थियो।

स्वास्थ्य बिमाअन्तर्गत जेठ महिनाको एक अर्ब ४५ करोड भुक्तानी

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत ०८३ जेठ महिनाको एक अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्वास्थ्य संस्थाको दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका पाँच महत्त्वपूर्ण निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। 

बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि संघीय संसद्समक्ष पठाउने निर्णय गरेको छ। 

प्रधानमन्त्रीका सल्लाहकारको नाम बेचेर दुई करोड ५० लाख असुलेको आरोपमा कांग्रेस नेतासहित दुई पक्राउ

प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारसँग सेटिङ मिलाएर वैदेशिक रोजगारीमा इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस नेतासहित दुईजना पक्राउ परेका छन्। रामेछाप कांग्रेसका नेता भरत चाैलागाईं र दोलखा कालिञ्चोककी बालिका सिवाकोटीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। 

सर्वोच्चभन्दा बढी मुद्दा जिल्ला अदालत काठमाडौंमा, उपत्यकाबाहिरका मुद्दाले कार्यबोझ बढ्दो

काठमाडौं जिल्ला अदालतका एक नम्बर न्यायाधीश अशोककुमार बस्नेत यस अदालतमा दोस्रोपटक आएका हुन् । सात वर्षअघि र अहिलेको उनको अनुभवमा हाल काठमाडौंभन्दा पनि उपत्यकाबाहिरका मुद्दाको चाङ बढ्दो छ । 

‘त्यो वेला अहिलेको जस्तो बाहिरका मान्छेको यति मुद्दा पर्दैनथे,’ ०७४ देखि ०७६ सम्म जिल्ला अदालतमा न्याय सम्पादन गरेका बस्नेत मुद्दाको चाप थेगिनसक्नु पुग्नुको कारणबारे भन्छन्, ‘अहिले डेरामा बस्नेका मुद्दा निकै बढेका छन् ।’ काठमाडौं जिल्ला अदालत देशभरमै सबैभन्दा बढी मुद्दाको चाप भएको जिल्ला अदालत हो । हाल भने यहाँ सर्वोच्च अदालतभन्दा पनि बढी मुद्दा विचाराधीन छन् । 

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो। 

श्रेष्ठले गत वैशाखदेखि प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएका छन्। उनी प्राधिकरणकै कर्मचारी हुन्। 

सुझावित समाचार