जयपृथ्वी नगरपालिका– १०, चैनपुरस्थित पानकोट पुलबाट जिउँदाे कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पानकोट पुलको पश्चिमी किनारामा रहेको रेलिङको पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। भिडियो सार्वजनिक भएपछि पशुप्रति निर्दयी व्यवहार गरिएको भन्दै घटनाको चौतर्फी चासो बढेको थियो।
घटनाको अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट नदीमा फाल्ने महिला जयपृथ्वी नगरपालिका– ३, पडेष गाउँकी ४२ वर्षीया विमलादेवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले रोकायालाई बिहीबार बेलुकी पक्राउ गरेको हो। उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत कारण तथा कुकुरको अवस्थालगायत विषयमा समेत अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको हो।