काठमाडौं/ गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य क्षेत्रको प्रतिकार्यलाई तीव्र बनाएको छ। बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सहायता उपलब्ध गराउन स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचइओसी)सक्रिय बनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीको अवस्था र नदीको बहाबमा भइरहेको परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय तथा निरन्तर अनुगमन भइरहेको छ।
मन्त्रालयका अनुसार स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले प्रदेश तथा स्थानीय तहका निकायसँग समन्वय गर्दै घटनासम्बन्धी विवरण पुष्टि तथा अद्यावधिक गर्ने काम गरिरहेको छ।
प्रदेशका स्वास्थ्य निकायलाई सतर्क रहन निर्देशन
बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा प्रभावकारी बनाउन गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपत्कालीन एवं सूचना तथा सञ्चार केन्द्र (पिएचइआइसिसी)लाई सक्रिय बनाइएको छ।
केन्द्रले मातहतका अस्पताल, स्याटेलाइट अस्पताल तथा सम्बन्धित सरोकारवाला निकायलाई सतर्क र तयारी अवस्थामा रहन अनुरोध गरेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, जिल्ला स्वास्थ्य कार्यालय गोरखा, अस्पताल तथा स्थानीय तहका स्वास्थ्य संयोजकसँग निरन्तर सम्पर्क र समन्वय गरी घटनाको अवस्था, स्वास्थ्य संस्थाको स्थिति, स्वास्थ्यकर्मीको सुरक्षा तथा आवश्यक स्वास्थ्य प्रतिकार्यबारे विवरण संकलन भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय ट्रमा सेन्टरसँग समन्वय गरी आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी आकस्मिक चिकित्सकीय टोलीलाई समेत तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ।
बाढीका कारण स्वास्थ्य सेवा आवश्यक पर्ने प्रभावित नागरिकलाई तत्काल सहायता उपलब्ध गराउन सम्बन्धित निकायबिच समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहायता आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हटलाइन नम्बर ११३५ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयले बाढीको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यक स्वास्थ्य सेवा तथा आकस्मिक उपचारका लागि सम्बन्धित निकायलाई समन्वयात्मक रूपमा तयारी अवस्थामा राखेको जनाएको छ।