दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस्

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वभरका नेपाली समुदायलाई बडादसैँको शुभकामना दिएका छन्। शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले चाडपर्व नै बोझ हुने गरी खर्च नगर्न आग्रह गरेका छन्।

देशलाई आर्थिक सम्पन्नता र सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ। आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नुहुँदैन भन्नेमा हामी सचेत छौँ।’ 

पारिवारिक मिलन र आफन्तको सामीप्यमा चाडपर्व मनाउनुपर्ने भए पनि बिदेसिन बाध्य युवा नहुँदा गाउँघर नीरस भइरहेको प्रधानमन्त्रीले बताएका छन्। बिदेसिन बाध्य ती लाखौँ नेपालीको नियति बदल्न हातेमालो गर्न आह्वान गर्दै उनले भनेका छन्, ‘सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु।’

भोटेकोशी र बुढीगण्डकीलगायत नदीको बाढीपहिरोबाट विस्थापित नागरिकहरूको पुनर्स्थापनातर्फ सरकारले काम गरिरहेको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन्।

सुझावित समाचार