काठमाडौं । ७१औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरू पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरे ।
अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्यांकनतर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई ‘प्रहरी ब्याटन २०८३’ प्रदान गरिएको छ । सात प्रदेश र उपत्यका प्रहरी कार्यालयमध्ये लुम्बिनी प्रदेशले अपराध अनुसन्धान र शान्तिसुरक्षामा उत्कृष्ट काम गरेको आधारमा उनी पुरस्कृत भएका हुन्।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ । आधा दर्जन हत्या घटनाको सफल अनुसन्धान गरेको, ५४४ जना फरार अभियुक्त पक्राउ गरेको, ठुलो संख्यामा लागुऔषध कारोबारीलाई पक्राउ गरेको तथा शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको आधारमा मूल्यांकन समितिले उनलाई प्रहरीको प्रतिष्ठित पुरस्कार सिफारिस गरेको हो । त्यस्तै, पूर्वडिआइजी डा. प्रेमलाल श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय रातापानी मुगुका प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढालाई ‘मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार’ तथा प्रहरी चौकी कोठियाघाट बर्दियाका प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र प्रहरी चौकी जोलजीवी दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाशसिंह महरालाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरिएको छ ।
त्यस्तै, विभिन्न क्षेत्रमा उत्कृष्ट गर्ने अन्य प्रहरीलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुरस्कार वितरण गरे। उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी नायब उपरीक्षक सुवास भट्ट, प्रहरी नायब उपरीक्षक जीवन निरौला, प्रहरी नायब उपरीक्षक दानबहादुर थापा, प्रहरी निरीक्षक विशाल मल्ल, प्रहरी निरीक्षक गणेश पौडेल, प्रहरी निरीक्षक प्रकाश रेग्मी, प्रहरी निरीक्षक सुन्दर चौलागाईं, प्रहरी नायब निरीक्षक भानबहादुर चन्द, प्रहरी नायब निरीक्षक सविना तामाङ र प्रहरी सहायक निरीक्षक सरोज मजाकोटी पुरस्कृत भएका छन्। उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी जवान प्रमिला कार्की, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोका, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट विपत् व्यवस्थापनको कार्य गर्ने प्रहरी उपरीक्षक विपिन रेग्मी, प्रहरी नायब उपरीक्षक अशोक थापा, प्रहरी निरीक्षक रमेश राय, प्रहरी निरीक्षक छत्रबहादुर रावत, प्रहरी नायब निरीक्षक कृष्णप्रसाद भट्टराई, प्रहरी सहायक निरीक्षक पवन बस्नेत, प्रहरी सहायक निरीक्षक निशा खत्री, प्रहरी सहायक निरीक्षक अर्जुन पञ्जियार थारू, प्रहरी जवान लालबहादुर कार्की, प्रहरी जवान सुरज लुहार र प्रहरी जवान निवस राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । यसैगरी उनले उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी निरीक्षक देवेन्द्र दास र उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक राजकुमार चौधरी र प्रहरी हवल्दार ललिता खवासलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन्।
यसैगरी, प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्राविधिक प्रहरी उपरीक्षक ई. ईश्वर थापा, प्राविधिक प्रहरी नायब उपरीक्षक डा. आज्ञा श्रेष्ठ, प्राविधिक प्रहरी नायब उपरीक्षक ई. मुकेश तिवारी, प्राविधिक प्रहरी नायब उपरीक्षक रविन भण्डारी, प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षक मानबहादुर कार्की, प्राविधिक प्रहरी नायब निरीक्षक ई. नवीन मण्डल, प्राविधिक प्रहरी सहायक निरीक्षक कृष्ण सेन र प्राविधिक प्रहरी सहायक निरीक्षक भीमसेन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । यसैगरी उत्कृष्ट प्रहरी खेल प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ हवल्दार चेतन घिमिरे, उत्कृष्ट प्रहरी खेलाडी पुरस्कारतर्फ प्रहरी जवान नागेश्वर अहिर, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेमा कार्यरत उद्धव कार्की एवं उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार सन्जु महर्जन र प्रहरी जवान सुरेन्द्र अवस्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।